नुवाकोटको बेलकोटगढी नगरपालिकाले स्वयंसेवक शिक्षक नियुक्त गर्ने



नुवाकोट,चैत २१। जिल्लास्थित बेलकोटगढी नगरपालिकाले स्वयंसेवक शिक्षक नियुक्त गर्ने भएको छ । विद्यार्थी संख्या बढी र शिक्षक संख्या कम भएका विद्यालयको शैक्षिक गुणस्तर सुधार्न यस्तो रणनीति अपनाउन लागेको नगरले जनाएको छ। जसका लागि चालु आर्थिक वर्षको बजेट विनियोजन तर्जुमा समेत नगरले गरिसकेको बताइएको छ।

चालु आर्थिक वर्षका लागि कम्तीमा ३० स्वयंसेवक शिक्षक नियुक्त गर्न बजेट सुनिश्चित भइसकेको बेलकोटगढी नगरपालिकाको शिक्षा, युवा तथा खेलकूद शाखाका प्रमुख बद्रीप्रसाद शर्माले बताए। शर्माका अनुसारले सो विषयमा कार्यपालिका बैठकबाट निर्णय गराई शिक्षक भर्ना प्रक्रिया समेत अघि बढाई सकिएको छ । नगरपालिकाले विद्यार्थी सङ्ख्या धेरै भएको तर शिक्षक दरबन्दी कम भएका विद्यालयलाई स्वयंसेवक शिक्षकको व्यवस्था मिलाउन रु ६२ लाख बजेट छुट्टाएको थियो । उक्त बजेटमार्फत कम्तीमा ३० शिक्षक नियुक्त गर्न आवश्यक कानूनी कार्यविधिलगायतका तयारी सम्पन्न भइसकेकाको शाखा प्रमुख शर्माले जानकारी दिए।

“नियुक्त गर्न लागिएका शिक्षकको लागि प्राविलाई रु १५ हजार, निमाविलाई रु २० हजार र मावि तहको लागि रु २५ हजार तलब दिइनेछ”, उनले भने, “नियुक्ति पाएकाले एक वर्ष अध्यापन गराए पनि चाडपर्व भत्ताबापत थप एक महिनाको तलबसमेत उपलब्ध गराइने भएकाले १३ महिनाको सुविधा पाउने छन् ।” अहिले नियुक्त भएका शिक्षकको लागि यो आवमा बजेट सुनिश्चित भइसकेको छ भने नियमितरुपमा नगरपालिकाले स्वयंसेवक शिक्षक राख्न थप बजेट नगरपरिषद मार्फत विनियोजन गरिने नगरप्रमुख राजेन्द्ररमण खनालले जानकारी दिए ।

नगरपालिकामा हाल १९ माविसहित प्रावि र निमावी (आधारभूत विद्यालय) ३४ गरेर कूल ५३ सामुदायिक विद्यालय छन् ।

प्रतिक्रिया दिनुहोस्