नेपाली मुद्रा साढे ४ महीनायताकै कमजोर



आयात महँगो हुने, विप्रेषणमा लाभ

काठमाडौं,चैत २६ । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ साढे ४ महीनायताकै कमजोर अवस्थामा पुगेको छ । बुधवार प्रतिडलर ११७ रुपैयाँ ८० पैसामा भएको कारोबार बिहीवार (आज) भने १ रुपैयाँ ७९ पैसाले अवमूल्यन भएर ११९ रुपैयाँ ५९ पैसामा खुल्दै छ, जुन पछिल्लो साढे ४ महीनायताकै महँगो हो ।

नेपाल राष्ट्र बैंकले बिहीवारका लागि डलरको मूल्य ११९ रुपैयाँ ५९ पैसा तोक्दै छ । यसअघि २०२० नोभेम्बर १७ मा डलरको मूल्य ११९ रुपैयाँ ६७ पैसा पुगेको थियो । त्यसपछि घटेको डलरको मूल्य बुधवारको तुलनामा आज बिहीवार १ रुपैयाँ ७९ पैसाले बढेर ११९ रुपैयाँ ५९ पैसा पुगेको हो ।

डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुन पुगेको हो । नेपाली रुपैयाँको विनिमय दर भारतीय रुपयासँग आबद्ध पेग्ड गरिएको छ । त्यसले गर्दा भारतीय रुपया कमजोर हुँदा नेपाली रुपैयाँ स्वतः कमजोर भई डलरको मूल्य बढ्छ ।

यसपटक पनि भारतीय रुपया कमजोर हुँदा नेपाली रुपैयाँ कमजोर भएको राष्ट्र बैंकले बताएको छ । भारतीय रिजर्व बैंकले हालै भारूमा १ ट्रिलियन बोन्ड खरीद गर्ने निर्णय गरेको छ । फलस्वरूप भारतीय बजारमा भारूको आपूर्ति अर्थात् प्रवाह बढी हुनेछ । भारूको प्रवाह बढी हुने अपेक्षाका कारण आज विनिमयदरमा असर पर्‍यो ।

सामान्यतया भारतीय रिजर्भ बैंकले दोस्रो बजारबाट बोन्ड खरीद गर्दा भारूलाई बलियो बनाउन रिपो रेट (पोलिसी दर) परिवर्तन गर्छ । तर, यसपटक भने भारतीय केन्द्रीय बैंक अप्रिल महीनाका लागि पोलिसीदर ४ प्रतिशतमा नै यथावत् राखेको छ । फलस्वरूप ब्याजदर परिवर्तन हुने सम्भावना पनि घटेको छ । यसरी आपूर्ति बढी भई भारू कमजोर भएको हो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले भारूको आपूर्ति बढी भएकाले भारतीय रुपया कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर भएको बताए । ‘भारतको केन्द्रीय बैंकले स्थानीय बजारबाट भारूमा नै बोन्ड खरीद गर्दा त्यसको सप्लाई बढी हुन्छ । त्यसमाथि पोलिसीदर पनि परिवर्तन गरिएको छैन,’ आर्थिक अभियानसँग उनले भने, ‘त्यसको असरले भारतीय रुपया कमजोर भएको छ । नेपाली रुपैयाँ भारूसँग पेग भएको हुँदा स्वतः नेपाली मुद्रा पनि कमजोर हुन गएको हो ।’ भारतमा बुधवार डलरको मूल्य १ दशमलव ०५ भारूले बढेर ७४ दशमलव ४७ भारू पुगेको छ ।

पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा डलर बलियो हुँदै आएको छ । हाल अन्तरराष्ट्रिय बजारमा डलरको इन्डेक्स करीब ९३ विन्दु नजीक पुगेको छ, जुन डेढ महीनाअघि ८९ विन्दुमा थियो । यसरी अन्तरराष्ट्रिय बजारमा डलर बलियो भएपछि भारू तथा नेपाली रुपैयाँ कमजोर भएको राष्ट्र बैंकको भनाइ छ । भारतमा कोरोना संकटका कारण पनि भारतीय रुपया कमजोर हुँदै गएको हो । पछिल्लो समय भारतका विभिन्न प्रदेशमा बन्दाबन्दी नै लगाइएको छ । फलस्वरूप त्यहाँको अर्थतन्त्र प्रभावित भएको छ । बुधवार मात्र भारतमा करीब १ लाख १५ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यम दि हिन्दुले बताएको छ ।

यो संख्या कोरोना संकट शुरू भए यताकै सबैभन्दा बढी हो । डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर भए पनि विप्रेषण आप्रवाहमा भने फाइदा हुने देखिएको छ । विदेशबाट डलरकै आधारमा नै विप्रेषण पठाउनुपर्ने हुन्छ । त्यसलाई यहाँ नेपाली रुपैयाँमा परिवर्तन गरेर बुझ्न सकिन्छ । फलस्वरूप नेपाली रुपैयाँ कमजोर भए पनि विप्रेषण आप्रवाहमा भने फाइदा हुने राष्ट्र बैंकको भनाइ छ । नेपालबाट हुने वस्तु निर्यातमा पनि फाइदा हुने राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्र बताउँछन् । डलर बलियो हुँदा आयात भने महँगो हुने उनको भनाइ छ । ‘डलरमा भुक्तानी गर्नुपर्ने विदेशी ऋणमा पनि केही कठिनाइ पर्न जानेछ । विदेश पढ्न जाने विद्यार्थीलाई पनि केही गाह्रो हुन सक्छ,’ उनले भने । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्