नेपालमै विद्युतीय बस एसेम्बलिङ गर्नेे योजनामा प्रमको चासो



काठमाडौं,वैशाख १६ । नेपालमै विद्युतीय बस एसेम्बलिङ गर्ने योजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले गत साता सुन्दर यातायात प्रालिका पदाधिकारीलाई भेटेर उक्त कम्पनीको एसेम्बलिङ उद्योगको तयारीबारे बुझ्नु भएको हो । कम्पनीले हाल काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालन गर्दै आएको छ ।

सुन्दर यातायातले २०७६ मङ्सिरमा चिनियाँ कम्पनी बीएकेसँगको संयुक्त लगानीमा बुटवल औद्योगिक क्षेत्रमा बस एसेम्बलिङ उद्योग खोल्ने बताएको थियो । कम्पनीले नेपालमै विद्युतीय बस एसेम्बलिङ गरेर बंगलादेशमा निर्यात गर्ने योजना बनाएको थियो । यद्यपि, त्यसयता उसले आफ्नो बस विक्रेता कम्पनी बीएकेसँग यस विषयमा छलफल गरे पनि काम अघि बढ्न सकेको थिएन ।

उद्योग स्थापनाको प्रक्रियाबारे प्रधानमन्त्रीले बुझ्नुभएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । प्रधानमन्त्रीले राखेको चासोमा आफूले जग्गाको टुंगो लागेमा (कोरोनाले प्रभाव नपारे) आगामी साउनदेखि नै एसेम्बिलिङ उद्योग स्थापनाको काम अघि बढाउने बताएको उनको भनाइ छ । ‘बीएकेले बारम्बार ताकेता गरिरहेको छ, जग्गा उपलब्ध भएर अवस्था सामान्य भए साउनदेखि उद्योग स्थापनाको काम शुरू गर्ने बताएका छौं,’ उनले भने ।

अध्यक्ष थापाले पाटर््स आयातमा पूर्ण भन्सार छूट दिनुपर्ने, विद्युत् व्यवस्थापन गरिदिनुपर्ने लगायत माग प्रधानमन्त्रीसामु राखिएको बताए । रू. ३ अर्ब लगानीमा स्थापना गरिने उद्योगमा वार्षिक ३ सयदेखि ५ सय बससहित जीप, कार लगायत विद्युतीय सवारी एसेम्बलिङ गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । हाल कम्पनीले काठमाडौंमा चारओटा विद्युतीय बस सञ्चालन गरिरहेको छ ।आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्