नेपाली यू–१९ महिला क्रिकेट टोली बेल्ट एन्ड रोड सिरिजको च्याम्पियन



काठमाडौं, कात्तिक २२ – नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनमा सम्पन्न बेल्ट एन्ड रोड सिरिजको उपाधि जितेको छ। हङकङसँगको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो।

प्रतियोगितामा नेपालले खेलेका ६ खेलमध्ये चारमा जित हासिल गरेको थियो भने दुई खेल वर्षाका कारण रद्द भएका थिए।

नेपालले प्रतियोगिताको पहिलो खेलमा थाइल्याण्डलाई सात विकेटले पराजित गर्दै सुखद सुरुआत गरेको थियो। चीनसँगको दोस्रो खेल वर्षाका कारण नतिजाविहीन बनेको थियो। तेस्रो खेलमा हङकङलाई ९२ रनले हराएको नेपालले चौथो खेलमा थाइल्याण्डमाथि ५२ रनको जित निकालेको थियो।

त्यस्तै, पाँचौँ खेलमा आयोजक चीनलाई ८४ रनले पराजित गर्दै नेपालले उपाधि यात्रालाई थप बलियो बनाएको थियो।

हङकङसँगको अन्तिम खेलमा नेपालले पहिले ब्याटिङ गर्दै वर्षाले खेल रोकिनुअघि ११ ओभरमा दुई विकेट गुमाएर ८८ रन बनाएको थियो। प्रतिकूल मौसमका कारण खेल पुनः सञ्चालन हुन नसकेपछि नेपाल अपराजित रहँदै उपाधि जित्न सफल भएको हो।

प्रतियोगितामा नेपाल, आयोजक चीन, हङकङ र थाइल्याण्डको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्