जनज्ञान निकेतन माविको शैक्षिक सुधार अभियानमा १६० दाता सम्मानित
नुवाकोट, कात्तिक २२ । नुवाकोटको शिवपुरी गाउँपालिका–८ थानापतिस्थित जनज्ञान निकेतन माध्यमिक विद्यालयको शैक्षिक तथा भौतिक सुधार अभियानमा सहयोग गर्ने १६० जना दातालाई सम्मान गरिएको छ ।
विद्यालयको बस खरिद तथा भौतिक संरचना निर्माणका लागि आर्थिक सहयोग गर्ने व्यक्ति तथा संस्थालाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गर्दै सम्मान गरिएको हो ।
विद्यालय बस खरिद तथा भौतिक संरचना निर्माण अभियानका संयोजक हरिप्रसाद सिटौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलिया, उपाध्यक्ष वीरबहादुर तामाङ र वडाध्यक्ष केशवप्रसाद रिजाललगायतले दाताहरूलाई सम्मान गरेका थिए ।
अभियानबाट कुल ९९ लाख ६७ हजार रुपैयाँ संकलन भएको संयोजक सिटौलाले जानकारी दिए । संकलित रकममध्ये ५० लाख रुपैयाँ खर्च गरेर विद्यालयका लागि बस खरिद गरिएको छ । त्यस्तै, विद्यालयको कार्यक्रमस्थल, क्यान्टिन, शौचालयलगायतका भौतिक संरचना निर्माण गरिएको छ । बस खरिद तथा पूर्वाधार निर्माणपछि बाँकी रकम विद्यालयको बस सञ्चालन कोषमा राखिएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष थपलियाले सामूहिक शिक्षा अभियानले ग्रामीण क्षेत्रका विद्यार्थीको अध्ययन र अभिभावकको सहजतामा महत्वपूर्ण योगदान पुर्याएको बताए । उनले सामुदायिक विद्यालयका शिक्षकबाट अपेक्षाअनुसार शैक्षिक नतिजा हासिल हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै माथिल्लो कक्षामा ट्युसन पढ्नुपर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिए ।
गाउँपालिकाभरका ४६ वटै विद्यालयले रुम टु रिडको कार्यक्रमलाई अनुसरण गर्दै प्रारम्भिक कक्षादेखि नै पठनपाठन गतिविधि प्रभावकारी बनाउनुपर्ने उनको सुझाव थियो ।
विद्यालयका प्रधानाध्यापक अर्जुनप्रसाद लामिछानेले अभियानमार्फत प्राप्त सहयोगको आयव्यय विवरण प्रस्तुत गरेका थिए । उनले विद्यालयको बस खरिद र भौतिक संरचना निर्माणलाई अभियानको महत्वपूर्ण उपलब्धि भएको बताए ।
झण्डै साढे दुई वर्षअघि विद्यार्थी संख्या न्यून, भौतिक पूर्वाधारको अभाव र शैक्षिक गुणस्तर सुधारको चुनौती सामना गरिरहेको विद्यालयमा अहिले उल्लेखनीय परिवर्तन आएको अभिभावकहरूको भनाइ छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, पूर्वविद्यार्थी तथा दाताहरूको सामूहिक प्रयासबाट विद्यार्थी संख्या वृद्धि, शिक्षक व्यवस्थापन, भौतिक संरचना सुधार र शैक्षिक वातावरण निर्माणमा प्रगति भएको उनीहरूले बताएका छन् ।
स्थानीय शिक्षाप्रेमी सिटौलाको संयोजकत्वमा सञ्चालन गरिएको अभियानले विद्यालयलाई शिवपुरी गाउँपालिकाभित्र शैक्षिक पहिचान बनाउन र नुवाकोटकै सफल विद्यालयमध्ये स्थापित हुने दिशामा अघि बढाएको प्रधानाध्यापक लामिछानेले बताए ।
विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि समेत पहल भइरहेको जनाइएको छ ।

