वृद्धभत्ता लिन बैंकमा भीड, सरुमारानीमा उड्यो स्वास्थ्य मापडण्डको धज्जी



प्युठान,वैशाख १६ । जिल्लाको सरुमारानी गाउँपालिका- २ दर्भानस्थित ज्योती विकास बैंकमा ज्येष्ठ नागरिकहरुको भीड देखिन्थ्यो ।

यस गाउँपालिकाका ज्येष्ठ नागरिकहरुले बिहिबार सामाजिक सुरक्षा भत्ता लिने दिन परेको थियो । यही कारण वृद्धवृद्धाहरु बिहान दस नबज्दै बैंक परिसरमा लामवद्ध देखिन्थे ।

सरुमारानी -२ गहना की ७१ बर्षीया युध कुमारी सार्कीले बिहिबार बिहानै बैंकमा भत्ता लिन आएको बताउनुभयो । ‘ यस्तो महामारीका बेला वृद्धभत्ताबापतको रकम गाउँमै वितरण गर्न उहाँले माग गर्नुभयो । उहाजस्तै अरुपनि भत्ता लिन बंैक परिसरमा पुगेर लाइनमा उभिएका थिए ।

लाइनमा बस्ने सबै वृद्धवृद्धा कोरोनाको जोखिम हुने उमेर समूहका थिए ।कोरोनाको जोखिम बढिरहेका बेला २५ जनाभन्दा बढीलाई एकै ठाउँमा भेला नगर्न जिल्ला प्रशासन कार्यालय प्युठानले धेरै दिन अघिदेखि सूचना जारी गर्दै आएको छ । तर, भीडमा रहेका धेरैजसोको मुखमा मास्क थिएन्। लाइनसमेत खचाखच थियो। प्रशासनले दूरी कायम गरेको थिएन। लकडाउनको पूर्ण उल्लंघन थियो त्यो ।

सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतको भत्ता रकम बुझ्नेको भीड लागेपछि सेवाग्राहीले सास्ती व्यहोर्नु परेको स्थानीयले बताएका छन । सरुमारानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिन्तामणी रेग्मीले बाहिरको भीड व्यवस्थापन गर्न बैंकहरुलाई आग्रह गरिएको बताउनुभयो। गाउँपालिका भित्र रहेका प्राईम कमर्सियल बैँक र ज्योती बिकास बैंकबाट भत्ता रकम उपलब्ध गराउने ब्यबस्था मिलाईएको रेग्मीले जानकारी दिनुभयो।

ज्येष्ठ नागरिक, एकल महिला, अशक्त, अपाङ्गता भएका लगायतका नागरिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत भत्ता रकम उपलब्ध गराउने गरेको छ । तर, कोरोनाको उच्च जोखिममा रहेका बेला सरकारले ज्येष्ठ नागरिकमाथि गम्भीर लापरवाही गरिरहेको यो घटनाले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्