आज १३१ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइँदै



काठमाडौँ,वैशाख १८।आज मे १ अर्थात् अंग्रेजी वर्षको पाचौँ महिनाको पहिलो दिन,अन्तर्राष्ट्रिय मजदुर दिवस । नेपाललगायत संसारभर आज १३१ औं मजदुर दिवस मनाइँदै छ । यो दिवसलाई संसारभर रहेका मजदुरी गरेर खाने हरेक व्यक्तिका लागि महत्वपूर्ण दिनको रुपमा लिने गरिन्छ ।

विगतका वर्षहरुमा विभिन्न राजनीतिक दल आवद्ध मजदुर संगठनहरूले हर्षोल्लासका साथ मजदुर दिवस मनाउने गरे पनि यस वर्ष भने कोरोना संक्रमणले गर्दा यो दिवस औपचारिकतामा सीमित हुने भएको छ । सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरूले गरेको आन्दोलन सफल भएको स्मरणमा विश्वभर मजदुर दिवस मनाइन्छ । १७ औं शताब्दीमा भएको संघर्षले मजदुरहरूले अधिकार प्राप्त गरेका थिए । सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताहरूको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसपछि सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिन्छ ।

नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । मजदुर दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतले शुभकामना सन्देश दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्