भारतमा एकै दिन थपिए ४ लाखभन्दा बढी कोरोना संक्रमित



एजेन्सी,वैशाख १८ । भारतमा एकै दिन ४ लाखभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार राति ११ बजेसम्म मुलकभर ४ लाख ८ हजार ३२३ जना संक्रमित थपिएका जानकारी दिएको हो । यस अवधिमा कोरोनाकै कारण ३ हजार ४६४ जनाको मृत्यु भएको छ ।

एकै दिन ४ लाख जनामा संक्रमण पुष्टि हुने भारत विश्वकै पहिलो मुलुक बनेको छ। यसअघि अमेरिकामा एकै दिन ३ लाखभन्दा बढीमा संक्रमण पाइएको थियो । भारतमा गत अप्रिल २१ बाटै दैनिक ३ लाखभन्दा बढी संक्रमित थपिन थालेका थिए ।

कोरोनाबाट बढी प्रभावित हुने राज्यहरुमा महाराष्ट्र, दिल्ली, उत्तर प्रदेश, कर्नाटक, केरला छन् । मन्त्रालयको पछिल्लो तथांकअनुसार महाराष्ट्रमा ६२ हजार ९१९ जना, कर्नाटकमा ४८ हजार २९६ र केरलामा ४८ हजार २९६ जनामा संक्रमण पुष्टि भएको छ । मृत्यु हुनेमा महाराष्ट्रमा ८२८ जना, दिल्लीमा ३७५ र उत्तर प्रदेशमा ३३२ छन्

भारतमा हालसम्म १ करोड ९१ लाख ६३ हजार ४८८ जना संक्रमित पाइएका छन् भने २ लाख ११ हजार ८५३ जनाको मृत्यु भएको छ । यो आँकडामा लद्दाखमा थपिएका संक्रमित र मृतकको संख्या सामेल गरिएको छैन । अहिलेसम्म निको हुनेको संख्या १ करोड ५६ लाख ७१ हजार ५३६ छ ।

भारतमा ठूलो मात्रा कोरोना परीक्षणसमेत भइरहेको छ । शुक्रबार मात्रै १९ लाख ४५ हजार २९९ नमुनाको पीसीआर परीक्षण भएको छ । एक दिनमा गरिएको परीक्षणमा यो हालसम्मकै ठूलो संख्या हो । बिहीबार १९ लाख २० हजार १०७ नमुनाको जाँच गरिएको थियो । हालसम्म २८ करोड ८३ लाख ३७ हजार ३८५ नमुनाको परीक्षण भइसकेको छ ।

यहाँ कोरोनाविरुद्धको खोप अभियान पनि चलिरहेको छ । पछिल्लो २४ घन्टामा २७ लाख ४४ हजारभन्दा बढीले खोप लगाएका छन् । गत अप्रिलको दोस्रो साता एकै दिनमा लगाइएको खोपभन्दा यो निकै कम हो । १-१४ अप्रिलसम्म भारतमा ‍औसतमा ३५.२६ लाख जनामा खोप लगाइएको थियो । जबकि १५-२९ अप्रिलसम्म यो आँकडा घटेर २५.१६ मा आइपुगेको थियो । शुक्रबारसम्म झन्डै साढे १५ करोड जनाले खोप लगाइसकेको मन्त्रालयको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्