विप्रेषक कम्पनीले २५% र भुक्तानी सेवाप्रदायकले २०% कर्मचारीबाट काम गर्नुपर्ने



काठमाडौं,वैशाख २० । नेपाल राष्ट्र बैंकले कोभिड–१९ को दोस्रो लहरको संक्रमण बढेसँगै उच्च सतर्कताका साथ न्यून कर्मचारीबाट काम गराउन विप्रेषक र भुक्तानी सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभाग र भुक्तानी प्रणाली विभागले आइतवार सुचना जारी गर्दै विप्रेषक कम्पनीलाई २५ प्रतिशतभन्दा कम कर्मचारी र भुक्तानी सेवा दिने कम्पनीलाई २० प्रतिशतभन्दा कम कर्मचारीबाट सेवा प्रवाह गर्न निर्देशन दिएको हो । केन्द्रीय बैंकका अनुसार सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा कोभिड संक्रमणको जोखिम कम गर्ने उपाय अपनाएर सेवा दिन निर्देशन दिइएको हो ।

विप्रेषक कम्पनीले कार्यालयमा उपस्थित नभई सम्पादन गर्न गर्न नसकिने कामका लागि मात्र न्यूनतम कर्मचारीबाट काम गर्नु÷गराउनुपर्नेछ । निषेधाज्ञा जारी भएका स्थानहरूमा सम्भव भएसम्म २५ प्रतिशतभन्दा कम कर्मचारीबाट सेवा दिन भनिएको छ । यस्तै, भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकहरूलाई निषेधाज्ञा भएका स्थानमा रहेका कार्यालयमा २० प्रतिशतभन्दा कम कर्मचारीबाट कार्यसम्पादन गर्न निर्देशन दिइएको छ ।

संक्रमणको जोखिममा ध्यानमा राखेर सेवाग्राहीलाई सम्भव भएसम्म प्रत्यक्षभन्दा विद्युतीय माध्यमबाट सेवा प्रवाहमा जोड दिन भनिएको छ । विभिन्न निकायबाट जारी भएका  निषेधात्मक आदेशको पालना गर्दै स्थानीय प्रशासन तथा निकायसँगको समन्वयमा सेवा प्रदान गर्नुपर्नेछ । महामारीको हालको अवस्थामा सूचना प्रविधिको अत्यधिक प्रयोग गरी अधिकांश कार्य विद्युतीय माध्यमबाट गर्दा उत्पन्न हुन सक्ने जोखिम तथा दुरुपयोगप्रति चनाखो हुन समेत केन्द्रीय बैंकले आग्रह गरेको छ ।

नेपालमा हालसम्म ५१ ओटा विप्रेषण कम्पनीले नेपाल राष्ट्र बैंकबाट सञ्चालनको अनुमति पाएका छन् । यसैगरी भुक्तानी प्रणाली सञ्चालक कम्पनी १० ओटा छन् भने २८ ओटा भुक्तानी सेवा प्रदायकले सञ्चालनको अनुमति पाएका छन् । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्