‘गौंथली’ले पूरा गर्‍यो प्रदर्शनको १०० दिन, कमाइ २६ करोडमाथि



काठमाडौं,कात्तिक ७ । कपिल रिजाल निर्देशित चलचित्र ‘गौंथली’ले प्रदर्शनको १०० दिन सफलतापूर्वक पूरा गरेको छ। यससँगै चलचित्रले यस वर्ष सर्वाधिक कमाइ गर्ने चलचित्रको उपलब्धि हासिल गर्नुका साथै लामो समयसम्म सिनेमाघरमा प्रदर्शन हुने चलचित्रको सूचीमा समेत आफूलाई स्थापित गरेको छ।

चलचित्रले गत सातासम्म २६ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको जनाइएको छ। यससँगै ‘गौंथली’ नेपाली चलचित्रको इतिहासमा सर्वाधिक कमाइ गर्ने चलचित्रमध्ये दोस्रो स्थानमा पुगेको छ।

१०० दिनको सफलता प्राप्त गरेपछि निर्देशक रिजालले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन्। उनले दर्शकको माया, साथ र विश्वास नै आफ्नो टिमको सबैभन्दा ठूलो शक्ति र प्रेरणा भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै साथ पाइरहने अपेक्षा व्यक्त गरेका छन्।

निर्देशक रिजालका अनुसार ‘गौंथली’ बेइजिङ लिफ्ट–अफ फिल्म फेस्टिभलमा आधिकारिक रूपमा छनोटसमेत भएको छ।

चलचित्रमा अरूण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन्। मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्