नेकपाको दुईमहिने राष्ट्रिय जागरण अभियान आजदेखि



काठमाडौं,कात्तिक ७ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र पार्टी संगठन सुदृढीकरणको उद्देश्यसहित दुईमहिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु गर्दैछ।

पार्टीले अभियानका लागि १९ बुँदे उद्देश्य तय गरेको छ। महँगी, बेरोजगारी, भ्रष्टाचार, कालोबजारी, बेथिति र असुरक्षाविरुद्ध जनमत निर्माण गर्ने तथा लोकतान्त्रिक अधिकार, गणतन्त्र, संविधान र विधिको शासनका पक्षमा जनजागरण सिर्जना गर्ने नेकपाको लक्ष्य छ।

अभियानमार्फत प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत, क्षतिपूर्ति र पुनःस्थापनाका लागि पहल गर्ने तथा राष्ट्रिय हित, स्वतन्त्र परराष्ट्र नीति र राष्ट्रिय सुरक्षाका विषयमा जनतालाई सचेत गराइने पार्टीले जनाएको छ।

संगठनात्मक रूपमा सदस्यता नवीकरण, नयाँ सदस्य विस्तार, बाँकी संगठनात्मक समायोजन र पार्टी कार्यालय स्थापना अभियानका प्राथमिकतामा छन्। टोल तथा बस्तीसम्म राजनीतिक प्रशिक्षण विस्तार गर्ने र पार्टीका सबै तहलाई सक्रिय तथा जिम्मेवार बनाउने योजना पनि पार्टीले अघि सारेको छ।

आगामी महाधिवेशनको तयारीका लागि पार्टी सदस्य, शुभेच्छुक र सर्वसाधारणबाट राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक विषयमा सुझाव संकलन गरिनेछ। साथै, पार्टीभित्र जिम्मेवारी निर्धारण, कार्यसम्पादन, अनुगमन र मूल्यांकन प्रणालीलाई व्यवस्थित बनाउने लक्ष्य राखिएको छ।

नेकपाले महिला, युवा, विद्यार्थी, श्रमिक, किसान, दलित, आदिवासी जनजाति र मधेसी समुदायको सहभागिता तथा नेतृत्व विकासलाई प्रोत्साहन गर्ने जनाएको छ। देशभक्त, लोकतान्त्रिक शक्ति, नागरिक समाज, बुद्धिजीवी र जनप्रतिनिधिसँग साझा जनसरोकारका विषयमा संवाद तथा सहकार्य बढाउने योजना पनि अभियानमा समेटिएको छ।

यसैगरी, स्थानीय तहदेखि केन्द्रसम्मको राजनीतिक परिस्थिति र विभिन्न दलको अवस्था, प्रभाव तथा जनाधारको अध्ययन गरिनेछ। आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक शक्तिहरूको सम्भावित स्थिति विश्लेषण गरी आवश्यक रणनीति तयार पार्ने र पार्टीका नीति तथा कार्यक्रम जनतामाझ स्पष्ट पार्ने उद्देश्यसमेत अभियानले लिएको छ।

प्रतिक्रिया दिनुहोस्