चीनबाट २० हजार अक्सिजन सिलिन्डर ल्याउने तयारी



काठमाडौं,वैशाख २० । सरकारले चीनले उपलब्ध गराउने २० हजार थान अक्सिजन सिलिन्डर तत्काल ल्याउन पहल थाल्ने भएको छ । परराष्ट्र, स्वास्थ्य र अर्थ मन्त्रालयले तत्काल यसका लागि काम थाल्ने कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी ले निर्णय गरेको छ ।

उत्पादकहरूले अक्सिजन पर्याप्त भए पनि सिलिन्डर अपुग हुँदा आपूर्ति गर्न नसकिएको बताउँदै आएका छन् । त्यस्तै मानिसहरूले घरमा अक्सिजन होल्ड गरेर राख्दा पनि अपुग भएको उनीहरूको भनाइ छ । नयाँ प्रजातिको कोरोना भाइरसले संक्रमितको श्वासप्रश्वासमा असर पार्ने र  उनीहरूलाई अक्सिजन दिनुपर्ने अवस्था बढी भएको चिकित्सहरूले बताएका छन् । संक्रमण बढेसँगै अक्सिजनको माग बढ्ने भएकाले थप सिलिन्डर आवश्यक भएको हो ।

सीएमसी बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइ उडान व्यवस्थित गर्ने निर्णय गरेको छ । निषेधाज्ञा जारी भएका जिल्लाहरूका सरकारी कार्यालयमा मानिसहरूको आवतजावत कम गर्ने, सचिव, सहसचिव र कार्यालय प्रमुखहरू परिचयपत्रका आधारमा ओहोरदोहोर गर्न सक्ने निर्णय समेत बैठकले गरेको छ ।

त्यसैगरी सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोरोना अस्पताल बनाउने भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको वीर अस्पतालमा नवनिर्मित भवनलाई ५०० शैय्याको कोरोना विशेष अस्पताल बनाउने विषयमा छलफल अघि बढाएका हुन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले आइतवार मुख्यसचिव शंकरदास वैरागी, सीसीएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिव डा. खगराज बराल र वीर अस्पतालका प्रतिनिधिसँग वीर अस्पतालको नवनिर्मित भवनलाई कोरोनाका बिरामी उपचार गर्ने गरी प्रयोग गर्ने विषयमा छलफल गरे ।

काठमाडौं उपत्यकामा कोरोनाका बिरामी बढिरहेकाले अस्पतालमा बेडको अभाव भएको गुनासो आएपछि सीसीएमसीले विभिन्न विकल्पको खोजी गरिरहेको प्रधामन्त्री कार्यालयले बताएको छ ।

यसैबीच, कोरोनाबाट मृत्यु भएका नागरिकको दाह संस्कार सरकारले गर्ने भएको छ । आइतवार बसेको सीसीएमसी बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु भएका नागरिकका दाह संस्कार सरकारी खर्चमा गर्ने निर्णय गरेको हो ।

शव दाह गृह व्यवस्थित रूपमा सञ्चालन गर्ने र देखिएका समस्या निकारण गर्न विदेशबाट प्राविधिक झिकाउनुपर्ने भए त्यसको सहजीकरण संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने निर्णय गरेको छ । परम्परागत विधिबाट पनि दाह संस्कार गरिने र त्यसलाई व्यवस्थित गर्न परिपत्र गरिसकिएको उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी गराए ।

कोरोना नियन्त्रणमा कठिन भएपछि सिसिएमसीको सिफारिसमा मन्त्रिपरिषद् बैठकले आइतबार नै आन्तरिक उडानमा कोटाप्रणाली लागू गरेको छ भने केही अन्तर्राष्ट्रिय उडानमा कडाइ गर्ने निर्णय गरेको छ । बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखेर भारतसहित ब्राजिल र दक्षिण अफ्रिकाको उडान पनि रोक्ने निर्णय गरेको सरकारका एक मन्त्रीले बताए । मन्त्रिपरिषद् बैठकको पूर्ण निर्णय सरकारले सार्वजनिक गरेको छैन ।

यसैबीच, काठमाडौंमा कोरोना संक्रमणले उच्च गति लिएपछि आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले सरकारी र बैंक तथा वित्तीय संस्थालाई एक चौथाइ कर्मचारी राखेर सञ्चालन गर्न दिने निर्णय गरेको छ । खाद्यान्नका पसलहरू बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न अनुमति दिएकोमा सोमबारदेखि खोल्न नदिने निर्णय भएको काठमाडौंका प्रजिअ कालिप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार मास्क नलाई हिड्नेलाई जरिबाना गर्नेदेखि पासमा कडाइ गर्नेसम्मको निर्णय डीसीसीएमसीको बैठकबाट भएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्