नागरिकको जीवन रक्षा गर्न निर्देशन



काठमाडौं, बैशाख २० । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोराना हामारीका कारण बाँके जिल्लाको परिस्थिति भयावह हुन नदिन निर्देशन दिएका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई आइतबार टेलिफोन गरी उपप्रधानमन्त्री पोखरेलले बाँकेका नागरिकको जीवन रक्षाका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) का संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले स्थिति भयावह हुन नदिन बेलैमा कदम चाल्न निर्देशन दिँदै सीसीएमसीका तर्फबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग हुने बताए । कुनै गम्भीर विषय भएमा सीसीएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिवलाई सीधै सम्पर्क गर्न उनले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन पनि दिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले जिल्लामा कोभिड–१९ को अवस्था तथा वस्तुस्थितिबारे जानकारी गराउँदै कोभिड–१९ का बिरामीको चाप अस्पतालहरूमा बढिरहेको, अस्पतालमा शøयाको अभाव भएको, सम्बन्धित चिकित्सकहरूको अभाव भएको तथा नेपाल मेडिकल कलेज कोहलपुरलाई कोभिड–१९ अस्पतालका रूपमा अगाडि बढाउने विषय प्रक्रियामै रहेको जानकारी गराएका छन् । उपप्रधानमन्त्री पोखरेलले यी सबै विषयमा तत्कालै सीसीएमसीका तर्फबाट सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्