बाँकेमा पछिल्लो १९ दिनमा ९७ संक्रमितको मृत्यु



काठमाडौ,वैशाख २० । बाँकेमा कोरोना संक्रमितसंगै मृत्युदर समेत वृद्धि भएको छ। वैशाख यता कोरोना भाइरस संक्रमणबाट बाँकेमा ९७ जनाको मृत्यु भएको छ । 

तथ्यांक अनुसार १९ दिनमा ९७ जनाको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापनले सोमबार सार्वजनिक गरेको छ । जसमध्ये ४१ जना महिला र ५६ जना पुरुष छन् । यस समयावधिमा २ हजार ४३२ महिला र २ हजार ९६१ जना पुरुष गरी कुल ५ हजार ३९३ जनामा संक्रमण पुष्टि भएको छ । यो तथ्यांक वैशाख १ देखि १९ गतेसम्मको हो ।

बाँकेमा औसतमा प्रतिदिन ५ जनाको मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ । वैशाख १ गते यता सबैभन्दा बढी वैशाख १६ र १९ गते १२\१२ जना संक्रमितको मृत्यु भएको छ भने १२ र १४ गते १०\१० जना संक्रमितको मृत्यु भएको तथ्यांकले देखाएको छ ।
वैशाख १८ गते ९ जना, वैशाख १७ गते ८ जना, वैशाख ११ गते ६ जना, वैशाख १३ गते ५ जना, वैशाख १३ गते ५ जना संक्रमतिको मृत्यु भएको छ । वैशाख ५ र १५ गते ४\४ जना संक्रमितको मृत्यु भएको छ भने वैशाख ७ देखि ९ गतेसम्म ३\३ जनाको मृत्यु भएको तथ्यांकले देखाएको छ । यसै गरी वैशाख ६ र १० गते २\२ जना र वैशाख १ देखि ४ गतेसम्म १\१ जना संक्रमितको मृत्यु भएको छ । 

बाँकेका मात्रै ६९ संक्रमितको मृत्यु

वैशाख १ गते यता कोरोना संक्रमणबाट बाँके जिल्लाका मात्रै ६९ जनाको मृत्यु भएको छ । जसमध्ये ३३ महिला र ३६ जना पुरुष छन् । 

वैशाख १६ र १९ गते बाँकेका मात्रै ९/९ जना संक्रमितको मृत्यु भएको छ भने वैशाख १२ गते ८ जना, वैशाख १४ गते ७ जना वैशाख ११ गते ६ जना संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । वैशाख १७ र १८ गते ५\५ जना, वैशाख १३ र १५ गते ४\४ जनाको मृत्यु भएको छ । वैशाख ६ र ७ गते ३\३ जनाको मृत्यु भएको छ भने वैशाख ८ गते २ जनाको मृत्यु भएको छ । वैशाख २, ५, ९ र १० गते १\१ जना संक्रमित भएको तथ्यांकमा उल्लेख छ । 

१९ दिनमा १,६२४ जना डिस्चार्ज

वैशाख १ गते यता १ हजार ६२४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार ७२३ जना महिला र ९०१ जना पुरुष निको भएर डिस्चार्ज भएका हुन् । तथ्यांक अनुसार निको हुने दर ३०.११ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस्