नुवाकोटमा आजदेखि एक साता निषेधाज्ञा जारी



नुवाकोट,वैशाख २१ । कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले आजदेखि निषेधाज्ञा जारी गरेको छ। आज मंगलबार बिहान ४ बजेदेखि लागु हुनेगरी यही वैशाख २७ राति १२ बजेसम्म पहिलो चरणको निषेधाज्ञा जारी भएको हो ।

कोरोना संक्रमणको जोखिम रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनलाई थप प्रभावकारी बनाउन जिल्लामा निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रमण रोग ऐन २०२० को दफा २ बमोजिमको अधिकार प्रयोग गरि आइतबारको केन्द्रको बैठकले वैशाख २१ गते बिहान ४ बजेदेखि वैशाख २७ गते राति १२ बजेसम्म निषेध आदेश जारी गरेको थियोे ।

निषेधाज्ञाको समयमा औषधि उपचार, खाद्य वस्तु, तरकारी खरिद जस्ता अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह समेत गरिएको छ।

जिल्लाबाहिरबाट प्रवेश गरेकाहरु अनिवार्य स्थानीय तहले तोकेको क्वारेन्टाइनमा बस्नुपर्ने उल्लेख छ ।

साथै विवाह, ब्रतबन्धको लागि बढीमा १५ जना हुने गरी स्वास्थ्य मापदण्ड पालना गरि प्रशासनको अनुमति लिनुपर्ने भनिएको छ ।

थप ६१ जनामा कोरोना संक्रमण पुष्टि

जिल्लामा सोमबार एकैदिन ६१ जना कोरोना संक्रमित थपिएका छन् ।

त्रिशुली अस्पतालमा सोमबार ९४ जनाको पिसिआर परिक्षण गर्दा ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको त्रिशुली अस्पतालले जानकारी दिएको छ ।

संक्रमित भेटिएकामध्ये ६१ जना नुवाकोट र ३२ जना धादिङका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्