श्रमिकको न्यूनतम मासिक पारिश्रमिक राजपत्रमा



साउन १ गतेदेखि लागू हुने गरी रू. १५ हजार निर्धारण

काठमाडौं,वैशाख २१। सरकारले श्रमिकहरूको न्यूनतम मासिक पारिश्रमिक रू. १५ हजार पुर्‍याउने गरी राजपत्रमा सूचना प्रकाशित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मजदूर दिवसको दिन पारी शनिवार मात्रै श्रमिकहरूको न्यूनतम पारिश्रमिक बढाउने घोषणा गर्नुभएको थियो । त्यसको २ दिनमै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी साउन १ गतेदेखि वृद्धि गरिएको पारिश्रमिक लागू गराउन राजपत्रमा सूचना जारी गरेको हो । सोमवार सार्वजनिक गरिएको सूचनाअनुसार मासिक आधारभूत पारिश्रमिक रू. ९ हजार ३८५ र त्यसमा महँगी भत्ता जोडेर मासिक रू. १५ हजार पुर्‍याइएको छ । यस्तै, श्रमिकले  पाउने न्यूनतम दैनिक पारिश्रमिक रू. ३६१ मा पनि महँगी भत्तासमेत जोडेर रू. ५७७ पुर्‍याइएको छ । भत्तासहित अहिले पाउने दैनिक पारिश्रमिक रू. ५१७ रहेको छ । प्रतिघण्टा ज्याला रू. ४८ मा महँगी भत्ता रू. २९ जोडेर रू. ७७ पुर्‍याइएको छ । अहिले प्रतिघण्टा ज्याला रू. ६९ छ ।

आगामी साउन १ गतेदेखि लागू गर्ने गरी मन्त्रालयले यो पारिश्रमिक निर्धारण गरेको हो । हाल श्रमिकको मासिक न्यूनतम पारिश्रमिक रू. १३ हजार ४५० छ । सूचनाअनुसार यो पारिश्रमिक चिया बगानमा काम गर्ने श्रमिकको हकमा भने लागू हुनेछैन ।आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्