कोरोना खोपको दुवै डोज लगाएकी जनप्रतिनिधिको कोरोनाबाटै ज्यान गयो



बाग्लुङ,वैशाख २१ । कोरोना खोपको दुवै डोज लगाएकी जनप्रतिनिधिको कोरोनाबाटै ज्यान गएको छ। जिल्लाको ताराखोला गाउँपालिकाकी एक जनप्रतिनिधिको कोरोना खोप लगाएपनि ज्यान गएको हो। कोरोनाबाट संक्रमित ताराखोला गाउँपालिकाको कार्यपालिका सदस्यसमेत रहेकी ३० वर्षिया तेजुमाया भण्डारी परियारको उपचारका क्रममा मृत्यु भएको हो।

धौलागिरी अञ्चल हस्पिटल बाग्लुङका कोभिड-१९ का फोकलपर्सन देब प्रकाश घिमिरेका अनुसार धौलागिरि अस्पतालको सघन कक्षमा उपचाररत ३० वर्षीया जनप्रतिनिधि महिलाको उपचारका क्रममा सोमबार राति ११:३० बजे मृत्यु भएको हो ।

वडा न ३ बाट निर्बाचित महिला सदस्य ताराखोला गाउँपालिकाको कार्यपालिका सदस्य समेत हुन । करिब एकहप्ता अघिदेखी बिरामी भएपनि १८ गते मात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्थानीय क्लिनिकबाट औषधि लिएर होम आइसोलेसन बसेका उनलाई श्वास प्रश्वासमा धेरै नै गाह्रो भएपछि मात्रै गाउँपालिकाको कोभिड अस्पताल लगिएको थियो। ‘रुघाखोकी कोरोना लक्षण देखिएपनि घरमै बसेर औषधी खाइरहनु भएको रहेछ’, ताराखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उदित थापा मगरले भने, ‘कोभिड अस्पताल ल्याउँदा उहाँको अक्सिजन जम्मा ५० मा पुगिसकेको थियो, त्यसलाई बढाउन सकिन्छ भनेर प्रयास पनि गर्‍यौ, तर कठिन भएपछि तत्काल धौलागिरी अस्पताल रेफर गरेर पठाएका हौँ।’

कोरोना संक्रमणको शिकार बनेकी उनले दुवै चरणको कोरोना विरुद्धको खोपसमेत लगाएको स्वास्थ्य शाखा प्रमुख थापाले बताए। खोपले काम गरेको जस्तो नदेखिएको उनको भनाई छ। काठेखोला गाउँपालिका-३ धम्जा माइत भएकी उनले अन्तरजातिय विवाह गरेकी हुन्। भण्डारी नेकपा माओवादी केन्द्रबाट ताराखोला वडा नम्बर ३ बाट वार्ड सदस्य हुँदै कार्यपालिका सदस्य बनेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्