बुटवलमा सुरु भयो अक्सिजन बैंक



बुटवल,वैशाख २१ । बुटवल उपमहानगरपालिकामा ‘अक्सिजन बैंक’ सेवा शुभारम्भ भएको छ ।

होम आइसोलेसन,होटल आइसोलेसन तथा उपमहानगरको संस्थागत आइसोलेसनमा बसेका कोभिड संक्रमितलाई अक्सिजन आवश्यक परेमा तत्काल स्वास्थ्यकर्मीसहितको टोलीले अक्सिजन पुर्‍याउने गरी अक्सिजन बैंक स्थापना भएको हो। पहिलो चरणमा १० लाख रुपैयाँ खर्च गरेर एक सय वटा सिलिण्डर खरिद गरिएको उपमहानगरपालिकाले जनाएको हो।

उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले एक समारोहबीच उक्त सेवाको शुभारम्भ गराउनुभएको छ । त्यसअवसरमा उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मी, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी, स्वास्थ्य तथा जनसंख्या महाशाखा प्रमुख मित्रमणी खनाल, स्वास्थ्य शाखाका उमा थापा, कार्यदलका सदस्यहरु एजाज आलम, सन्दीप कसौधन, बाबुराम बोहोरा, सुरज भट्टराईलगायतले प्रभावकारी सेवा प्रवाहको प्रतिबद्धता जनाउनु भएको छ ।

अक्सिजन बैंक बिरामीसम्म पुर्‍याउन, जडान र रेखदेखमा उपमहानगरका ८ शहरी स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी र ८ उपमहानगरले थप गरी खटाएका कर्मचरीले बैंक अन्तर्गत काम गर्नेछन।

प्रतिक्रिया दिनुहोस्