सीईडीबि हाइड्रोपावरको आईपीओमा १७ लाखभन्दा बढीले दिए ११.२५ गुणा बढी आवेदन



काठमाडौं,वैशाख २२ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा मागभन्दा ११ दशमलव २५ गुणा बढी आवेदन परेको छ । 

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार आवेदन दिने अन्तिम दिन मंगलवार साझ ५ बजेसम्ममा १७ लाख ३६ हजार ७०१ जनाले २ करोड ६३ लाख ४५ हजार ५२६ कित्ताका लागि आवेदन दिएका हुन् । 

वैशाख १७ गतेदेखि सार्वजनिक निष्कासनमा आएको यस आईपीओमा मागभन्दा बढी आवेदन परेकाले छिटो अवधि वैशाख २१ गतेसम्म मात्र विक्री गरिएको हो । छिटो अवधिभित्र आवेदन नपरेको खण्डमा भने कम्पनीले ढिलोमा वैशाख ३१ गतेसम्म आईपीओ विक्रीको मिति तय गरेको थियो । 

कम्पनीले सर्वसाधारणमा रू. २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ विक्री गर्न लागेको हो । यसमध्ये २ प्रतिशतका दरले ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता मात्र सार्वजनिक निष्कासन गरेको हो । 

यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २५ लाख १८ हजार २३० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो । कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । 

हाल रू. ५८ करोड ७५ लाख ८७ हजार चुक्तापूँजी रहेको कम्पनीको सर्वसाधारणमा शेयर जारी बाँडफाँट पश्चात यो पूँजी रू. ८३ करोड ९४ लाख १० हजार पुग्नेछ । कम्पनीद्वारा प्रवर्द्धित साङ्गे जलविद्युत् आयोजना र राधि जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन् भने तल्लो खारे खोला जलविद्युत् आयोजना, दोर्दी १ जलविद्युत् आयोजना र रुकुमगाडा जलविद्युत् आयोजना निर्माणधीन अवस्थामा रहेका छन् । 

यस कम्पनीले ४५ मेगावाट क्षमताको कसुवा खोला जलविद्युत् आयोजना प्रवर्द्धनका लागि लगानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा चुक्तापूँजी वृद्धि गरी रू. ८८ करोड १३ लाख ८० हजार पुर्‍याउने प्रक्षेपण गरेको छ ।आगामी आर्थिक वर्षभित्र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रक्षेपण कम्पनीको रहेको छ । 

आर्थिक वर्ष ०७६/७७ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. १३८ दशमलव ७९ रहेको छ । सोही प्रतिशेयर नेटवर्थको आधारमा कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले तीन गुणासम्मको लागि मूल्य तोक्नेछ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्