वीरगञ्ज महानगरले सञ्चालनमा ल्यायो १०० ओटा बेडको अस्थायी कोभिड अस्पताल



वीरगञ्ज,वैशाख २५ । कोरोना संक्रमित बढेर उपचारमा समस्या आएपछि वीरगञ्ज महानगरपालिकाले १०० ओटा बेड क्षमताको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ ।

वीरगञ्जको लक्ष्मीनारायण मन्दिर गोपाल मण्डली धर्मशालामा शुक्रवारदेखि अक्जिनससहितको अस्थायी अस्पतालबाट सेवा शुरू गरिएको हो । वीरगञ्ज महानगरका प्रमुख विजयकुमार सरावगीले अस्थायी अस्पतालको उद्घाटन गरेका छन् ।

कोभिड अस्पतालमा पहिलो संक्रमितको रुपमा महानगर उपप्रमुख शान्ति कार्की भर्ना भएकी छन् । कार्की ३ दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि होम आईसोलेशनमा बस्दै आएकी थिइन् । अस्थायी अस्पतालमा भर्ना भएका संक्रमितको निःशुल्क उपचार गरिने प्रमुख सरावगीले बताए ।

वीरगञ्जको नारायणी अस्पताल र नेशनल मेडिकल कलेजलगायतका केही निजी अस्पतालमा कोरोनाको उपचार भइरहे पनि संक्रमित बढेपछि बेड र अक्सिजनको अभाव देखिएको छ । 

कोरोना संक्रमितको उपचार सहज बनाउन महानगरले अस्थायी कोभिड अस्पताल सञ्चालन गरेको वीरगञ्ज महानगरका प्रेस सल्लाहकार गोविन्द देवकोटाले जानकारी दिए । सोही धर्मशालामा १०० ओटा बेडको आईसोलेशन केन्द्र पनि सञ्चालन गरिएको उनले बताए ।

घरमा आईसोलेशनमा बस्न अप्ठेरो परेका संक्रमितको व्यवस्थापनका लागि सामुहिक आईसोलेशन तयार पारिएको महानगरले बताएको छ । महानगरले यसअघि होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जसँगको सहकार्यमा होटेल आईसोलेशन सञ्चालनमा ल्याइसकेको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्