कोरोनाले एकै परिवारका चार जनाको मृत्यु



बाँके,वैशाख २५ । कोरोना भाइरस संक्रमणका कारण बाँकेको नेपालगन्जमा एकै परिवारका चार जनाले ज्यान गुमाएका छन् । पूर्वराष्ट्रिय क्रिकेटर जाहिर अहमद, उनकी एक बहिनी र दुई दाइको मृत्यु भएको हो ।

नेपालगन्ज–३ सुनारमन्दी टोलका ४२ वर्षीय जाहिरको बुधबार बेलुका ७ बजे भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । त्यही अस्पतालमा उहाँका राइँलो दाइ एजाजको बिहीबार बेलुकी ७ बजे र काइँलो दाइ इम्तियाजको शुक्रबार बिहान साढे १० बजे ज्यान गएको हो । ‘हट्टाकट्टा थिए, अचानक बिरामी भएर अस्पताल गएका थिए, फर्केनन्,’ छिमेकी हज शकिलले भने।

उनका अनुसार सात दाजुभाइ सबै संयुक्त परिवारमा बस्दै आएका थिए । परिवारमा अन्य पनि संक्रमित छन् । तीमध्ये कोही घरमै आइसोलेसनमा र केही अस्पतालमा उपचाररत छन् । घरमा उनीहरूकी वृद्ध आमा छिन् । जाहिरकी बहिनीको भने भारतको रुपैडियामा कोरोना संक्रमणले मृत्यु भएको हो । उनको भारतमा बिहे भएको थियो । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्