कोरोना महामारी नियन्त्रणबाहिर गएको छैन : प्रम



काठमाडौं,वैशाख २६ । मुलुक दोस्रो चरणको कोरोनाले आक्रान्त भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने स्थिति नियन्त्रणबाहिर नगएको दाबी गर्नुभएको छ ।

अमेरिकी टेलिभिजन न्यूज च्यानल सीएनएनलाई शनिवार बिहान दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महमारी नियन्त्रणमा रहेको दाबी गर्नुभएको हो ।

उहाँको यो भनाइ आलोचित बनेको छ । मुलुकमा कोरोनाले भयावह अवस्था निम्त्याइरहेको बेला प्रधानमन्त्रीले अन्तरराष्ट्रिय मिडियामा दिएको अन्तर्वार्तामा नियन्त्रणमा रहेका अभिव्यक्ति दिँदा शनिवार दिनभर सामाजिक सञ्जालमा आलोचना भयो । आलोचकहरूले वास्तविक स्थितिबारे जानकारी दिएर अन्तरराष्ट्रिय सहयोगको आह्वान गर्ने राम्रो अवसरलाई प्रधानमन्त्री ओलीले गुमाउनुभएको बताए ।

प्रधानमन्त्रीले अन्तर्वार्ताका क्रममा पहिलो चरणको कोरोना नियन्त्रणमा आइसकेको बताउँदै सर्वसाधारणको लापरबाहीका कारण पुनः तीव्र गतिमा कोरोना पैmलिएर दोस्रो चरण आएको आरोप लगाउनुभयो ।

पहिलो लहरको संक्रमण लगभग नियन्त्रणमा आएपछि सर्वसाधारणले सावधानी नअपनाउँदा दोस्रो लहर आएको उहाँको दाबी थियो । ‘गएको वर्ष हामीले संक्रमण नियन्त्रणमा लिएका थियौं । मृत्युदर शून्यमा आएको थियो । संक्रमण पनि दैनिक ५० को हाराहारीमा झरेको थियो । तर, मानिसहरूले महामारी सकिएको ठाने, लापरबाही गरे । त्यसकारण महामारीको दोस्रो लहर आयो । हामीले अहिलेको अवस्था नियन्त्रणका लागि हाम्रो सम्पूर्ण संयन्त्र परिचालन गरेका छौं,’ उहाँले अन्तर्वार्ताको क्रममा भन्नुभयो ।

अहिले आफूहरू नागरिकलाई सचेत बनाउँदै संक्रमणबाट जोगाउन लागि परेको प्रधानमन्त्री ओलीले दाबी गर्नुभएको छ । ओलीले नेपालमा कोरोना नियन्त्रणमै रहेको बताउनुभए पनि स्वास्थ्य मन्त्रालयले भने संक्रमण तीव्र गतिमा फैलिएको र स्वास्थ्य सेवाले थेग्न सक्ने अवस्था नरहेको बताएको थियो ।

स्वास्थ्य मन्त्रालयकै तथ्यांकअनुसार शनिवार मात्रै देशभर कोरोनाबाट ५३ जनाको मृत्यु भयो भने देशभर ८ हजार ४ सय १८ जना कोरोना संक्रमित थपिएका छन् । मुलुकभर सक्रिय संक्रमितको संख्या १ लाखको हाराहारीमा पुग्न थालिसकेको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्