अक्सिजन आपूर्तिको प्रयास जारी



काठमाडौं, वैशाख २६ । कोरोना सङ्क्रमण उपचारका लागि अति आवश्यक पर्ने अक्सिजन आपूर्ति गर्न सरकारले पहल थालेको छ । बाह्य मुलुकबाट सिलिन्डर ल्याउने प्रयास सँगसँगै देशभित्रको आपूर्ति व्यवस्थालाई पनि व्यवस्थित बनाउने प्रयास अगाडि बढाएको छ ।

टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा यतिखेर कोरोना भाइरस बिरामीको भीड लागेको छ । कुल ३३ शैया आईसीयूमध्ये १४ शैया भेन्टिलेटर रहेको यो अस्पतालमा कुनै समय पनि आईसीयू र भेन्टिलेटर खाली हँुदैन । अस्पतालका निर्देशक डा सागर राजभण्डारीले टेकु अस्पतालको अवस्था जटिल हुँदै गएको जानकारी दिए। उनले भने, “अब त अक्सिजनसमेत अभाव हुन थालेको छ, यही अवस्था रहिरह्यो भने अक्सिजन नपाएर सङ्क्रमितको मृत्यु हुन सक्छ ।” बिरामीलाई निरन्तर अक्सिजन दिनुपर्ने भएकाले अहिले अक्सिजन अभाव भएको उनले बताए ।

“एक सङ्क्रमितलाई दैनिक १० देखि १५ लिटर अक्सिजन आवश्यक पर्छ, अहिले अक्सिजन अभाव हुँदा बिरामीलाई बचाउन गाह्रो भएको छ,” डा राजभण्डारीले भने । यस्तै वसुन्धरास्थित कान्तिपुर अस्पतालमा यतिखेर ५५ सङ्क्रमित उपचार गराइरहेका छन् । यो अस्पतालमा पनि अक्सिजनको अभाव छ । “अक्सिजन अभावका कारण अन्य बिरामी भर्ना गर्नसक्ने स्थिति छैन, अस्पतालमा उपचार गराइरहेका बिरामीका लागि अक्सिजन व्यवस्थापनमा कठिन भइसकेको छ,” अस्पतालका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले भने । अक्सिजन नपाइकन सङ्क्रमितको मृत्यु हुने उनको भनाइ छ ।

पुल्चोकस्थित अल्का अस्पतालमा ६० जना सङ्क्रमित उपचाररत छन् । त्यहाँ पनि अक्सिजनको अभाव हुन थालेको छ । अस्पतालका अध्यक्ष कुमार थापाले अक्सिजन आपूर्ति गर्नेहरूलाई हारगुहार गर्दासमेत अक्सिजन ल्याउन नसकेको बताए । निजी अस्पतालको छाता सङ्गठन प्राइभेट अस्पताल एसोसिएसनका उपाध्यक्षसमेत रहेका थापाले अल्कालगायत अन्य निजी अस्पतालमा अक्सिजनका कारण थप सङ्क्रमित भर्ना गर्न सक्ने अवस्था नरहेको बताए ।

नेपाल अक्सिजन उत्पादक सङ्घले अक्सिजन आपूर्तिमा प्रयास गरिरहेको छ । सङ्घका अध्यक्ष गौरव शारडाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट कुनै पनि व्यक्ति, संस्था वा अस्पताललाई मन्त्रालयको अनुमतिमा मात्र अक्सिजन दिनुपर्ने निर्देशन भएकाले पनि व्यवस्थापनमा केही ढिला हुने गरेको जानकारी दिए ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्