गुल्मीमा ४० शैयाको अक्सिजन सहितको आईसोलेशन तयार



गुल्मी,वैशाख २६ । गुल्मी सदरमुकाम तम्घासमा ४० शैयाको अक्सिजन सहितको आईसोलेशन वार्ड स्थापना गरिएको छ । कोरोना भाइरसको नयाँ भेरियन्टका साथ संक्रमण दिनानुदिन बढ्दै गएपछि ४० शैयाको आईसोलेशन निर्माण गरिएको हो ।

जिल्लाको रेसुङ्गा नगरपालिकाले महेन्द्र माबिमा २० शैंयाको, रेसुङ्गा हस्पिटलमा १० शैंयाको र गुल्मी अस्पतालमा १० शैंयाको गरि ४० शैंयाको आईसोलेशनको वार्ड निर्माण गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीको समन्वय र रेसुङ्गा नगरपालिकाले आईशोलेशन वार्ड बनाइएको हो । 

त्यस्तै नेपाली कांग्रेस गुल्मीले पार्टी कार्यालय आइसोलेशन बनाउनका लागि उपलब्ध गराउने भएको छ । पछिल्लो समयमा कोरोना संक्रमणको दर बढ्दै गएकाले तम्घासमा रहेको बीपी स्मृति भवनलाई कोरोना आइसोलशन बनाउनका लागि उपलब्ध गराउने पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए । त्यस्तै पत्रकार महासंघ गुल्मीले पनि १० शैंयाको आईसोलेशन वार्ड निर्माण कार्य अगाडी बढाएको छ । अक्सिजन सहितको आईसोलेशन वार्ड बनाउनको लागि पूर्व अध्यक्ष जनार्दन घिमिरेको अध्यक्षतामा आर्थिक सहयोग संकलन अभियान तिब्र पारिएको छ । दोस्रो चरणको कोरोना संक्रमणका कारण जिल्लामा अहिले संक्रिय संकमितको संख्या ५१८ रहेको छ । संक्रमणका कारण १८ जनाको ज्यान गइसकेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्लाका १२ वटा स्थानीय तहले पनि अक्सिनज सहितको आइसोलेसन निर्माण गरेका छन् । सदरमुकाम तम्घासमा रहेको गुल्मी अस्पतालमा १० शैंयाको आइसोलेशन तयार गरिएको छ । त्यस्तै रेसुङ्गा नगरपालिकाले ३० शैंया, मुसिकोट नगरपालिकाले १५ शैंया, मालिका गाउँपालिकाले ५ शैंयाको आइसोलेशन तयार गरिसकेका छन् । मदाने गाउँपालिकाले १० शैंया, धुर्कोट गाउँपालिकाले ५ शैंया, कालीगण्डकी गाउँपालिकाले १० शैंयाको निर्माण गरेको छन् । चन्द्रकोट गाउँपालिकाले १९ शैंया, सत्यवती गाउँपालिकाले ११ शैंया, रुरुक्षेत्र गाउँपालिकाले ९शैंया, छत्रकोट गाउँपालिकाले ६ शैंया, इस्मा गाउँपालिकाले २० शैंया, गुल्मीदरबारले ५ शैंया आइसोलेशन वार्ड तयार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्