खाद्यान्न उत्पादन खुम्चिँदै, परनिर्भरता चुलिँदै



काठमाडौं,वैशाख २७ । लगातार ३५ वर्षदेखि प्रमुख खाद्यान्न बालीको उत्पादन खुम्चिँदा परनिर्भरता बढ्दै गएको छ । नेपालीका प्रमुख खाद्यान्न बाली धान, मकै, गहुँ, कोदो र फापरको उत्पादनमा ह्रास हुँदै गएको हो । सबैभन्दा धेरै फापरको उत्पादनमा ४० प्रतिशतले कमी आएको छ ।

२०५८ सालमा सम्पन्न कृषि गणनालाई आधार मान्दा २०७८ सालको कृषि गणनासम्म पुग्दा खाद्यान्न उत्पादनमा ३० प्रतिशतले ह्रास आउने अनुमान गर्न सरिएको छ ।

तत्कालीन नेपाल सरकारले प्रमुख खाद्यान्न बाली चामल निर्यात गर्न २०३५ सालमा धान चामल निर्यात कम्पनी स्थापना गरेको थियो । सोही कम्पनीले बंगलादेश, भुटान र भारतमा चामल निर्यात गर्दथ्यो । २०७८ सालसम्म पुग्दा हाल प्रतिमहीना २ अर्ब रुपैयाँ बराबरको चामल आयात हुने गरेको तथ्यांक छ ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महीनामा भारतबाट ३० करोड र अमेरिकाबाट ७ लाख ३३ हजार किलो चामल नेपाल भित्रिएको छ । त्यस्तै ३३ करोड किलो मकै भारतबाट भित्रिँदा २४/२४ लाख किलो दक्षिण अमेरिकी देश ब्राजिल, अर्जेन्टिना र ३ लाख ५० हजार किलो दक्षिण अफ्रिकाबाट आयात भएको छ ।

कृषि गणना २०६८ ले नेपालको प्रमुख खाद्यान्न बाली धान ६, मकै १२, गहुँ ६, कोदो १९, फापर ४० प्रतिशत, जौ ३५, तोरी १३ र कोषे बालीको उत्पादन २१ प्रतिशतले घटेको देखाएको छ ।

कृषि विज्ञले उत्पादन घट्नुको मुख्य कारण भूमिको खण्डीकरण, खेतीयोग्य जमीन बाँझो हुँदै जानु र खेतीमा आश्रित महिला वर्ग शहर पस्नुलाई प्रमुख कारण मानेका छन् । २०५८ सालको कृषि गणनाले १ करोड १० लाख कित्ता खेतीयोग्य जमीन खण्डीकरण भएकोमा २०६८ सालको कृषि गणनासम्म पुग्दा  यो १ करोड २० लाख कित्तामा टुक्रिएको उल्लेख छ । कुल खेतीयोग्य जमीनमा १० लाख हेक्टर जमीन बाँझो रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ ।  

कृषि गणना २०६८ अनुसार कुल खेतीयोग्य जमीन झण्डै ३१ लाख हेक्टर छ । त्यसमा झण्डै ११ लाख हेक्टर जमीन बाँझो छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले हालको जनसंख्यालाई धान्न मकैमा १३, गहुँमा १०, चामलमा १५ र आलुमा १० प्रतिशतले उत्पादन बढाउनुपर्ने बताएको राससमा उल्लेख छ ।

२०६८ सालको जनसंख्या वृद्धिदर २ दशमलव २५ हुँदा खाद्यान्नको वृद्धि दर ३ दशमलव ५ प्रतिशत थियो, जबकि सो समयमा कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार थियो । वैशाख १९ गतेसम्म आइपुग्दा नेपालको जनसंख्या ३ करोड ३ लाख २४ हजार ४४८ रहेको अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको छ, अर्थात् २०७७/७८ मा कृषिको उत्पादकत्व दर भने झण्डै ४ प्रतिशत रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बताएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्