सिलिन्डर सीधै अस्पतालमा पठाउँदा समस्या : अक्सिजन उत्पादक संघ



अक्सिजन सिलिन्डर उपलब्ध गराउन व्यावसायिक संस्थाहरूको अपिल

काठमाडौं,वैशाख २८। नेपालमा कोरोना संक्रमित बिरामीको संख्या दैनिक तीवरूपमा बढेपछि अहिले अक्सिजन सिलिन्डरको माग चुलिएको छ । अक्सिजन सिलिन्डरको आपूर्ति सहज बनाउन व्यावसायिक संस्थाहरूदेखि जलविद्युत् आयोजना, निर्माण व्यवसायी, औद्योगिक क्षेत्रहरूले सिलिण्डर उपलब्ध गराउन सार्वजनिक अपिल गरेका छन् ।

नेपाल अक्सिजन उत्पादक संघले भने अक्सिजन सिलिन्डर उपलब्ध नभएको जनाकारी दिएको छ । संघका अनुसार अहिले दैनिक १६ हजारदेखि १८ हजार सिलिण्डर अक्सिजन उत्पादन भइरहेको छ भने माग पनि दैनिक ४५ हजारदेखि ५० हजार सिलिन्डरसम्म पुगेको छ । संघका अध्यक्ष गौरव शारडाले काठमाडौं उपत्यकामा मात्रै हाल दैनिक ८ हजार अक्सिजन सिलिण्डर उत्पादन भएको र २४ घण्टा नै प्लान्ट सञ्चालनमा आइरहेको बताए ।

अहिले नेपालकै उत्पादनबाट अक्सिजनको माग धानिएको छ । यद्यपि सिलिन्डरको अभाव भने कायमै छ । यस्ता सिलिण्डर नेपालले भारत र चीनबाट आयात गर्दै आएको छ । ‘धेरै संख्यामा हाम्रा अक्सिजन सिलिन्डर हराइरहेका छन्,’ शारडाले भने, ‘अहिले चाप बढेपछि अस्पतालहरूले पनि सिलिन्डर लिएर आएका छन् भने प्रशासनले पनि जफत गरी उपलब्ध गराएको छ ।’ विभिन्न संस्थाले सिलिण्डर उपलब्ध गराउन भनेको जानकारी सुनेको भए पनि अहिलेसम्म पाइनसकेको उनको भनाइ छ । यस्तै संघका महासचिव नारायणदत्त तिमल्सिनाले कम्पनीहरूसँग भएकै सिलिण्डरबाट अक्सिजन उपलब्ध गराएको बताए । ‘अहिले संस्थागत रूपमा अपिल गरिए पनि प्रहरी प्रशासनले सीधै अस्पतालमा लगेर बाँडिदिएको छ,’ उनले भने, ‘उद्योगको सम्पत्ति अस्पतालमा लगेर बाँडिदिएपछि अक्सिजन केमा भर्ने समस्या छ ।’

कोभिडबाट संक्रमित बिरामीको उपचारमा अक्सिजन सिलिण्डरको अभाव भएका बेला निजीक्षेत्रका व्यावसायिक संगठनदेखि औद्योगिक क्षेत्र, विद्युत् विभागले सिलिण्डर उपलब्ध गराउन सार्वजनिक अपिल गरेका छन् । हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले पनि शनिवार कोभिड संक्रमित बिरामीको उपचारमा अत्यावश्यक अक्सिजनको अभाव देखिएकाले उद्योगहरूमा प्रयोगमा नरहेका सिलिण्डर सम्बन्धित उत्पादक उद्योगलाई उपलब्ध गराई सघाउन अनुरोध गरेको छ ।

पोखरा औद्योगिक क्षेत्रले पनि उद्योगहरूमा रहेका सिलिण्डर संकलन गरी ग्यास उद्योगलाई उपलब्ध गराइएको बताएको छ । यस्तै पाटन औद्योगिक क्षेत्रले समेत सिलिण्डर उपलब्ध गराउन आग्रह गरेको छ ।

नेपाल निर्माण व्यवसायी महासंघले सोमवार अपिल गर्दै देशभर हाल सञ्चालित साढे ६ हजार परियोजनामध्ये लगभग २ हजारमा अक्सिजन सिलिन्डरको प्रयोग भइरहेको बताएको छ । परियोजनामा मौज्दात रहेका सिलिण्डर तत्काल नजिकका अस्पतालमा उपलब्ध गराउन आग्रह गरिएको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए । महासंघले पुल, जलविद्युत् आयोजना लगायतको निर्माणमा प्रयोग भएका अक्सिजन सिलिण्डर संक्रमितको उपचारका लागि उपलब्ध गराउन भनेको छ ।

यसैगरी निजीक्षेत्रका छाता संगठनहरूले पनि गत बिहीवार संयुक्त रूपमा अपिल गर्दै अक्सिजन प्रयोग गरिरहेका सम्पूर्ण उद्योगलाई मौज्दातमा रहेका सिलिन्डर यथाशीघ्र ग्यास उत्पादक वा नजिकका अक्सिजन उत्पादन प्लान्टमा उपलब्ध गराउन आग्रह गरिसकेको छ । कोभिड संक्रमितको जीवन रक्षाका लागि आवश्यक सिलिन्डरको अभाव हुन नदिन सहयोगका लागि उक्त संस्थाहरूले अपिल गरेका हुन् । विद्युत् विभागले पनि निर्माणाधीन जलविद्युत् आयोजनामा भएका सिलिण्डर उपलब्ध गराउन अनुरोध गरेको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्