२५% सिमेन्ट उद्योग बन्द, अन्य उद्योग पनि उत्पादन घटाउँदै



काठमाडौं,वैशाख ३० । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो भेरिएन्टको संक्रमण ह्वात्तै बढेको र जारी निषेधाज्ञा पनि लम्बिएसँगै निर्माण उद्योगहरूको उत्पादन क्षमता कम हुन थालेको छ । संक्रमणको डर र निषेधाज्ञाका कारण हाल २५ प्रतिशत सिमेन्ट उद्योग बन्द भइसकेका छन् भने सञ्चालनमा आएका ७५ प्रतिशत उद्योगले कम क्षमतामा उत्पादन गरिरहेका छन् ।

डन्डी उद्योगहरूले पनि पूर्ण क्षमतालाई घटाएर दैनिक १०÷१२ घण्टा उत्पादन थालेका छन् । उद्योग व्यवसायभन्दा पनि मानिसको जीवन रक्षा र संक्रमणरहित रहनु नै प्रमुख चुनौती बनेका बेला उत्पादनतर्पm त्यति ध्यान पु¥याउन नसकिएको उद्योगी व्यवसायीहरू बताउँछन् ।

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापाले निषेधाज्ञा जारी भएसँगै उत्पादन र माग ह्वात्तै घटेको जानकारी दिए । ‘अहिले उत्पादन क्षमता घटाएरै भए पनि केही उद्योगहरू चलिरहेका छन्,’ उनले भने, ‘कामदार नै नभएको र भएकामा पनि संक्रमण देखिँदा २५ प्रतिशतजति उद्योग बन्द भएका छन् ।’

हालको अवस्थामा साइटमा गएर काम गर्न डराएको र निर्माण पनि सुस्त भएकाले सिमेन्ट डन्डीको माग पनि कम भइसकेको उनले बताए । निषेधाज्ञाकै बीचमा यी निर्माण सामग्रीको माग ५० प्रतिशतजति घटेको अनुमान उनको छ । अहिले खानी उद्योगहरू पनि बन्द भएका छन् । खानी उद्योग बन्द हुँदा क्लिंकर आयात हुने सम्भावना देखिएको थापाले बताए ।

अहिले प्रत्येक सिमेन्ट उद्योगमा भएका सिलिन्डरहरू पनि सम्बद्ध निकायलाई सहयोग गर्न सर्कुलर नै जारी गरिएको उनको भनाइ छ । यसैगरी डन्डी उद्योगहरू पनि धेरैजसो बन्द भएको स्रोतको दाबी छ । यी उद्योगमा अक्सिजन सिलिन्डर चाहिन्छन् । तर, कोभिडका बिरामीहरूका लागि अत्यावश्यक भएकाले उद्योगहरूले अक्सिजन सिलिन्डर सहयोग गरेका छन् ।

पञ्चकन्या ग्रूपका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले कामदारहरूलाई उद्योगभित्र नै खाना र वासको व्यवस्था गरी केही मात्रामा भए पनि उद्योग सञ्चालन गरिएको बताए । ‘उद्योग बन्द गरेर भएन, कर्मचारीहरूलाई पारिश्रमिक दिनैपर्यो,’ श्रेष्ठले भने, ‘साविकको जस्तो पूर्ण क्षमतामा उत्पादन गर्न नसकेको छैन ।’ अहिले केही माग भए तापनि सप्लाइ गर्न अप्ठ्यारो भएको उनको भनाइ छ । डन्डी उद्योगमा भएका अक्सिजन सिलिन्डरहरू कोभिडका बिरामीको उपचारका लागि उपलब्ध गराएको उनले जानकारी दिए । उनले भने, ‘उद्योगको उत्पादन कम होला । तर, मानिसको ज्यान जोगाउन अहिले सबैको सहकार्य र सहयोगको खाँचो छ ।’

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवाल ग्रील तथा स्टीलजन्य वस्तुहरूको उत्पादन १५ देखि २० प्रतिशत मात्रै हुन थालेको बताए । अहिलेको अवस्थाले व्यवसायीहरू समेत हच्किएको भन्दै अत्यावश्यक उत्पादनबाहेक अन्यको अवस्था कमजोर नै भएको बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघकोे वस्तुगत उपाध्यक्षसमेत रहेका कटुवालले कृषि, पशुपक्षीजन्य, डेरी तथा अत्यावश्यक खाद्यान्न तथा अन्य सामग्रीबाहेकका उद्योगहरू सामान्यतया बन्द हुने क्रम शुरू भएको उल्लेख गरे । ‘अहिले स्थानीय उत्पादनले बजार नपाएको अवस्था छ,’ उनले भने, ‘अहिले हस्तकलाका सामग्रीहरू बनाउन पनि कच्चा पदार्थको स्टक सकिएको अवस्था छ ।’आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्