निषेधाज्ञाको मौकामा नुवाकोटको गुर्जे-छहरे सडकखण्ड मर्मतमा व्यापक लापरबाही



नुवाकोट वैशाख ३० । कोरोना भाइरस महामारीविरुद्ध जारी निषेधाज्ञाको मौकामा नुवाकोटको गुर्जेभञ्ज्याङ-छहरे सडकखण्ड मर्मत कार्यमा व्यापक लापरबाही भएको स्थानीयले बताएका छन् ।

सडक सुधार जारी रहेको उक्त खण्ड चाँपाबोटलगायत क्षेत्रमा जिल्ला डिभिजन सडक कार्यालयबाट खटिएका प्राविधिकको बेवास्ताका कारण गुणस्तरहीन काम हुँदै आएको सरोकारवालाहरुले बताएका छन् । निर्माण क्षेत्रका जानकार स्थानीयले बताएअनुसार ढलानमा पीसीसी कम गरेको, रड २०/२० सेन्टिमिटरमा नबनेको, प्लम हाल्दा ६० प्रतिशत गिट्टी, बालुवा, सिमेन्ट र ४० प्रतिशत ढुङ्गा (70MM) भन्दा माथि हुनु नहुनेमा ढुङ्गाको मात्र चाङ लगाएको पाइएको हो ।

त्यस्तै ढलानमा गिट्टी प्रयोग गर्नुपर्नेमा पेबल प्रयोग गरेको (पेबल क्रसरको खेर जाने माल हो, जुन क्रसरले नकुटी निकाल्ने गरिन्छ), ढलान कम गरेको तर उचाई पुर्‍याउनका लागि ढुङ्गाको सोलिङ बढी गरेकोजस्ता कैफियत भेटिएको हो । ‘धमिलो पानीमा माछा मार्ने’ उक्तिलाई सावित हुनेगरी निषेधाज्ञा जारी भएको बेला प्राविधिक र निर्माण व्यवसायी बीचको मिलेमतोमा सडक सुधारमा हेलचेक्र्याइँ गरेको स्थानीयको आरोप छ ।

मुख्यगरी टोखा गुर्जे-छहरे सडकखण्ड अन्तर्गत चाँपाकोबोट सफल होमस्टे नजिकैको प्लम वाल,  कुम्भेश्वर थानमाथिको मोड, चाँपाको बोटमाथि राखेको प्लममा समेत मापदण्ड नपुगेको सरोकारवालाहरुले बताएका छन् ।


नुवाकोट, रसुवा र धादिङ उत्तरका सर्वसाधारणका लागि काठमाडौं आउन सबैभन्दा छोटो मार्गमा विभिन्न भागमा अहिले काम जारी छ । जिल्ला सडक डिभिजन कार्यालयका अनुसार ६ करोड विनियोजन भएको रकमबाट सडक सुधारको कार्यक्रम भइरहेको छ । गत आर्थिक वर्षमा पनि नुवाकोट क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङको पहलमा १० करोड विनियोजन गरी सडक सुधार भएको गरिएको छ । अहिले पनि सांसद् तामाङकै पहलमा ६ करोड विनियोजन भएको नुवाकोट शिवपुरी गाउँपालिका (माओवादी केन्द्र)का अध्यक्ष वीरबहादुर तामाङले जानकारी दिए ।

आफ्नो पार्टीका सांसदको पालामा छुट्याइएको बजेटको सदुपयोगमा समस्या देखिएको भन्दै अध्यक्ष तामाङ तीव्र आक्रोश पोखेका छन् । लकडाउनको समयमा अनुगमन र निरीक्षण नहुने देखेर सडक निर्माणमा प्राविधिक र व्यवसायीले मिलेमतो गरेर गुणस्तरहीन काम गरिएकोले कसैलाई नछाडिने उनले सामाजिक सञ्‍जालमार्फत चेतावनी दिएका छन् ।

‘लकडाउनको समयमा अनुगमन र निरीक्षण हुँदैन भनेर होला । निर्माण व्यवसायी र सुपरभाइजरको मिलोमतोमा गुणस्तरहिन कामहरु हुँदैछन् । यदि लकडाउनलाई निर्माण व्यवसायी र कर्मचारीहरुको लुटेर खाने अवसरको रुपमा प्रयोग गरिन्छ भने हामी छोड्ने छैनौं । जोकसैले पनि त्यस प्रकारको अनियमितता गरेको देखिन्छ भने हामीलाई खबर गर्नु होला । ठगी खानेहरुको भण्डाफोर गरौं,’ उनले आफ्नो फेसबुकमा तस्बिर र भिडियोसहित पोस्ट गर्दै भनेका छन्, ‘जनतालाई जीवन र मरणको अवस्थामा ठगी खाने अवसरको रुपमा प्रयोग गर्नेको विरुद्ध खबरदारी गरौँ ।’

गुर्जे-छहरे सडकअन्तर्गत आजभोलि सुनखानी ढलानघर पश्चिमको भीरमा बाटो फराकिलो पार्न कटिङ भइरहेको छ । त्यही रकमले चाँपबोटको तल र माथि पनि ड्रेन, वाल र ढलानको कामहरु भइरहेका छन् । काफलडाँडा माथिल्लो भेगमा पनि वाल, ड्रेन र ढलानको काम भइरहेको छ । त्यस्तै गुरुङगाउँ कुनाभीरमा पनि ढलानको काम पनि सोही बजेटबाट भएको हो ।

‘कतिपय ठेकेदार र जिल्लाबाट खटिएका सुपरभाइजरहरुका कारण गत सालको १० करोड रकमबाट भएको काम पनि धेरै ठाउँमा राम्रो देखिए पनि चाँपको बोट माथिको ढलान अहिले नै उत्रिन थालिसकेको छ,’ एक उपभोक्ताले भने ।

उक्त सडक खण्डमा मंगलादेवी सुवास कन्स्ट्रक्सन, रत्न निर्माण सप्लायर्स लगायत कम्पनीले निर्णमा जिम्मा लिएका छन् । चाँपाबोट क्षेत्रमा निर्माणको जिम्मा पाएको रत्न निर्माण सप्लायर्सका राजन लामाले भने सुपरभाइजर निर्देशन र निर्माण मापदण्ड अनुसार नै आफूहरुले गुणस्तरमा ध्यान दिएर काम गरिरहेको बताएका छन् । ‘ढलान मबजुत ढंगले बनाइरहेका छौं । चित्तनबुझे साइटमा आउनु पर्‍यो । काम गर्दैजाँदा समस्या आउँदैन भन्ने छैन । मापदण्ड बाहिर गएको छैन । म साइटमै हुन्छु,’ उनले भने । उनले ढलान भइसकेपछि ८/१० दिनमै गाडी गुडाउनु पर्ने भएकोले गुणस्तरमा ध्यान नदिने हो भने समस्या आउनेमा आफूहरु सचेत रहेको बताए ।

यता जिल्ला डिभिजन सडक कार्यालयका प्रमुख नारायण दत्त भण्डारीले नियमित इन्जिनियरहरुले अनुगमन गरिरहेको र कुनै कमजोरी हुन नदिन आफुले सुझाउदै आएको बताए। उनले साझापथसंग कुराकानी गर्दै सडक मर्मतका बिषयमा कतिपय थोरै बुझेका र बुझ्दै नबुझेकाले बिरोध गर्ने गरेको बताए । विगतमा सडक मर्मतका क्रममा नम्स र स्टाण्ड बिना पुरानो शैलीमा सडकको ड्रेन र बाल बन्ने गरेको भएतापनि हाल विभागको मापदण्ड अनुरुप योजना अगाडि बढिरहेको प्रमुख भण्डारीले जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्