नुवाकोटमा प्रत्येक स्थानीय तहमा आइसोलेसन तयार, कहाँ कति शय्या?



नुवाकोट,वैशाख ३० । कोरोना महामारी वृद्धिसंगै जिल्लामा प्रत्येक स्थानीय तहले आइसोलेसन तयारीलाई तिव्रता दिएको छ। कोरोनाबाट सङ्क्रमित बिरामीको उपचार गर्न नुवाकोटका सबै स्थानीय तहले अक्सिजनसहितको आइसोलेसन केन्द्र स्थापनालाई तिव्रता दिएको हो । जिल्लाका बाह्र स्थानीय तहसहित नेपाली सेनाको नं. १ तालीम गण र त्रिशूली अस्पतालमा गरी २२२ शय्याको आइसोलेसन सञ्चालनमा ल्याइएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

अधिकांश स्थानीय तहले पहिलो चरणको कोरोना महामारीको समयमा तयार गरेका आइसोलेसनलाई पुनःसञ्चालनमा ल्याएका छन् भने केहीले यसअघि बनाएको क्वारेन्टिनलाई स्तरोन्नति गरेर हाल आइसोलेसन शय्यामा रुपान्तरण गरेको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकृत उत्तमराज खनालले बताए ।

स्थानीय तहले बनाएका आइसोलेसनमा चिकित्सकसहित अक्सिजनको सुविधा रहेको छ।कोरोना सङ्क्रमितको स्वास्थ्य समस्या नभएसम्म घरमै बस्न र कमजोर महशुस भएमा स्वास्थ्यकर्मीसँग परामर्श लिएको खण्डमा नुवाकोटमा तत्काल बिरामीको उपचारको लागी शय्याको अभाव नहुने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

हाल विदुर नगरपालिकाको बट्टारस्थित कर्भडहलमा २२ र नुवाकोट सिटी कम्युनिटी अस्पतालमा १५ गरेर ३७ शय्याको आइसोलेसन तयारी अवस्थामा रहेको छ। त्यस्तै बेलकोटगढी नगरपालिकामा कोभिड अस्पतालसहित २५ शय्याको आवश्यक सुविधासहित आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको नगरका नगरप्रमुख राजेन्दरमण खनालले बताए ।

त्यस्तै लिखुमा १०, शिवपुरीमा २०, म्यागङमा ८, किस्पाङमा ५, सूर्यगढीमा २०, तादीमा २०, तारकेश्वरमा ९, दुप्चेश्वरमा ८, पञ्चकन्यामा ५ र ककनी गाउँपालिका ५ शय्याको आइसोलेसन कक्ष तयारी अवस्थामा रहेको स्थानीय निकायहरुले उल्लेख गरेका छन । आइसोलेसन कक्षमा सबै स्थानमा अक्सिजन सहित अक्सिजन कन्सनट्रेटर, पल्स–अक्सोमिटर, पिपिइ, भाइरस परीक्षण गर्ने एण्टिजेन कीट, पिसिआरको लागि स्वाब सङ्कलन गर्न भिटिएम सहितको सुविधा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्