चितवनमा हावाहुरीका कारण केराखेतीमा लाखौंको क्षति



चितवन,वैशाख ३० । चितवनको पूर्वी क्षेत्रमा मंगलबार राति वर्षासहित आएको हावाहुरीले केराखेतीमा लाखौंको क्षति भएको छ । पूर्वी चितवनको कुमरोज, रत्ननगर, खैरहनी लगायतको क्षेत्रमा लगाइएको केराखेतीमा क्षति पुगेको हो । खैरहनी नगरपालिका वडा नम्बर १२, १३ र रत्ननगरको वडा नम्बर ५ मा लगाइएको केराखेतीमा हावाहुरीले क्षति गरेको चितवन केरा उत्पादक संघका अध्यक्ष माधव घिमिरेले जानकारी थिए । क्षतिको यकिन विवरण नआए पनि हालसम्म १ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ । 

केरामा क्षति हुंँदा खैरहनी र रत्ननगरको दक्षिण क्षेत्रका किसान प्रभावित भएका छन् । बजारमा लैजान केही हप्ता मात्र बांँकी रहंँदा हावाहुरीले बोट नै ढल्नेगरी क्षति पु¥याउँदा उनीहरु चिन्तित भएका हुन् । ‘मेरो २० बिघामा लगाएको केराखेती मध्ये ६ बिघामा लगाएको कामनै नलाग्ने गरी हावाहुरीले ढाल्यो यतातिर अरू साथीको पनि एउटा बोट पनि काम लाग्ने अवस्थामा छैन ।’ खैरहनी नगरपालिका वडा नम्बर १३ का स्वर्णिम एकिकृत कृषक समूहका अध्यक्ष ऋषि गुरुङले भने । 

समूहमा ११ जना कृषकमध्ये सबैजसोको केराखेती नष्ट भएको उनले बताए । उक्त समूहमा आबद्ध प्रत्येक किसानले १० बिगाहदेखि २० बिगाह जग्गामा केराखेती गर्दै आएका छन् । कतिपय किसानले भर्खरै मात्र केराखेती शुरू गरेको र बीमा समेत गर्न नभ्याएका कारण उनीहरू थप मर्कामा परेको गुरुङको भनाइ छ । 

हावाहुरीले रत्ननगरपालिका तथा खैरहनी नगरपालिकामा बढी क्षति पुगेको हो । संघका पूर्व अध्यक्ष विष्णुहरि पन्तले आफ्नो सबै गरी ३५ बिघामा केरा लगाइएकोमध्ये १२ बिघाहा क्षेत्रफलमा लगाइएको केरा क्षति भएको बताए । ‘यस्तो हावाहुरी आयो बोट नै समेत सोत्तर बनायो,’ उनले भने । कोरोना कहरको समयमा हावाहुरीले क्षति भएपनि बीमा कम्पनीले विवरण संकलन गरेर गएकाले नोक्सान कम हुने आश किसानहरुको छ । 

यसपटक अघिल्ला वर्षजस्तो गर्मी नभएको र केरा पाक्नै ढिला गरेका कारण हावाहुरीको चपेटामा पर्नुपरेको किसानहरुको भनाइ छ । संघमा हालसम्म सातसय भन्दा बढी किसान आबद्ध छन् । जिल्लामा ३ हजार पाँचसय बिघाभन्दा बढी क्षेत्रफलमा केरा लगाइएको छ । वार्षिक चितवनमा डेढ अर्बसम्मको केराको कारोबार हुँदै आएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्