भूराजनीतिक प्रतिस्पर्धाको असर नेपालमा बढी परेको छ : प्रचण्ड



काठमाडौं,कात्तिक ७ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व व्यवस्थामा भइरहेको परिवर्तन र बढ्दो भूराजनीतिक प्रतिस्पर्धाको असर नेपालमा बढी परेको बताएका छन्।

नेकपाको दुईमहिने राष्ट्रिय जागरण अभियान उद्घाटनका लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले दोस्रो विश्वयुद्धपछि स्थापित विश्व व्यवस्था बिस्तारै भत्किँदै गएको तर नयाँ व्यवस्था स्थापित भइनसकेको बताए।

विश्व राजनीति असाधारण संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै दाहालले यसको प्रभाव विश्वभर परेको बताए। दुई ठूला छिमेकी मुलुकको बीचमा नेपाल रहेको र ती शक्तिसँग विश्वका महाशक्तिहरूको प्रतिस्पर्धा पनि चर्किंदै गएकाले नेपालमा भूराजनीतिक चलखेल तथा परिवर्तनको असर बढी परेको उनको भनाइ छ।

उनले बदलिँदो भूराजनीतिक परिस्थितिका कारण नेपाली राजनीतिमा पनि असाधारण अवस्था देखापरेको बताए। यस्तो अवस्थामा आफ्नो पार्टी गम्भीर, संवेदनशील र जिम्मेवार भएर अघि बढ्नुपर्ने उनले उल्लेख गरे।

जनताको सार्वभौम अधिकार तथा उत्पीडित वर्ग र समुदायको हकअधिकारका लागि विगतमा ठूलो संघर्ष गरेको स्मरण गर्दै दाहालले वर्तमान परिस्थितिलाई गम्भीरतापूर्वक लिएको बताए। नेपालको राजनीतिमा देखिएको असाधारण परिस्थितिप्रति आफ्नो पार्टी सबैभन्दा बढी गम्भीर, संवेदनशील र जिम्मेवार रहेको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्