स्वास्थ्य मन्त्रालयको निर्देशनप्रति अफिनको ध्यानाकर्षण



काठमाडौं,वैशाख ३१ । एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युशन अफ नेपाल (अफिन)ले १५ दिनभित्र अक्सिजन प्लान जडान गर्न स्वास्थ्य मन्त्रालयले दिएको निर्देशनप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ । मन्त्रालयले ठोस कदम चाल्नुको सट्टा अव्यावहारिक निर्णय गरेको भन्दै अफिनले आपत्ति व्यक्त गरेको छ ।  कोभिड संक्रमण नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाका कारण अस्पतालहरूलाई अक्सिजन प्लान्ट जडान गर्न कम्तीमा तीन महीना लाग्ने उसले स्पष्ट पारेको छ ।

सय शय्याका निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान जडानको निर्देशन दिनु गैरजिम्मेवारपूर्ण निर्णय भएको समेत अफिनले औंल्याएको छ । कोरोना महामारीका कारण मुलुकभर चर्किएको अक्सिजन अभावबारे सबै अवगत रहेको उल्लेख गर्दै संस्थाले कोभिडको उपचार गरिरहेका निजी अस्पतालहरूलाई राज्यले अत्यावश्यक स्रोतसाधन उपलब्ध नगराई हचुवाको भरमा निर्णय गरेको टिप्पणी गरेको छ ।

हाल निषेधाज्ञा कायमै रहेको र अन्तरराष्ट्रिय उडानमा समेत रोक लगाइएको भन्दै अफिनले द्रूत ढुवानीको अन्य कुनै विकल्प नभएकाले १५ दिनमा जडान सम्भव नभएको स्पष्ट्याएको छ । सरकारको मापदण्ड बमोजिम सय शय्याको अस्पतालका लागि आवश्यक अक्सिजन प्लान्टको मूल्य २ करोड पर्ने र सोको जडानका लागि ५० लाख थप लगानी लाग्ने भन्दै अफिनले विद्यमान परिस्थितिमा उक्त लगानीका लागि सबै अस्पताल सक्षम नरहेको बताएको छ ।

विज्ञप्तिमा देशभर अक्सिजनको अभावको समस्या समाधान गर्न सरकारको तर्फबाट विशेष कदम चालिनुपर्ने माग समेत गरिएको छ । साथै सरकारको कदममा साथ दिन निजी अस्पताल तयार रहेको भनिएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्