एसईईबारे छिटै निर्णय हुने



काठमाडौ,जेठ १ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षाको विधिबारेमा छिटै निर्णय हुने बताउनुभएको छ । मन्त्रालयको दोस्रोपटकको कार्यभार सम्हाल्नुभएका मन्त्री श्रेष्ठले शुक्रबार पदवहाली गर्ने क्रममा सो कुरा बताउनुभएको हो ।

यतिबेला विशेष गरी एसईई र कक्षा १२ को परीक्षाको तयारी गरिरहेका विद्यार्थी तथा तिनका अभिभावक र शिक्षकको चासो एवं चिन्ता नै परीक्षाप्रति रहेको छ । परीक्षा हुन्छ वा हुन्न भन्न सकिने अवस्था देखिएको छैन । केही दिनअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको संयोजकत्वमा यी दुई परीक्षाको विधिका बारेमा अध्ययन गर्न कार्यदल गठन भएको थियो । सो कार्यदलको समयावधि १५ दिन तोकिएको छ ।

मन्त्री श्रेष्ठले कार्यदलले प्रतिवेदन पेस गर्नासाथ आफूहरूले सोही आधारमा निर्णय गर्ने जानकारी दिँदै परीक्षाको ‘मोडेल’ परिवर्तन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

उहाँले शुक्रबार पदवहाली गर्नुभएपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को पाँच वर्षे रणनीतिसम्बन्धी अध्ययन गर्न कार्यदल गठन गर्नेबारेमा पहिलो निर्णय गर्नुभएको छ ।

यसैबीच गत पुस १२ गते पहिलोपटक शिक्षामन्त्री भएदेखि हालसम्म गर्नुभएका मुख्य २० वटा काम सार्वजनिक गरिएको छ । शिक्षामन्त्री श्रेष्ठको सचिवालयले जारी गरेको विज्ञप्तिमा यस अवधिमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि पाँच अर्ब सात करोड ४१ लाख ५० हजार रुपियाँ वित्तीय हस्तान्तरण भएको, सो कार्यक्रमअन्तर्गत छ हजार ३६ वटा विद्यालयले परियोजना प्राप्त गरेको, कक्षा ११ को पाठ्यक्रमको विवाद निरुपण गरिएको, चिकित्सा शिक्षा अध्ययनका लागि नयाँ शुल्क निर्धारण गरिएको, नयाँ शैक्षिक सत्र आगामी असार १ गतेबाट सुरु गर्ने प्रवन्ध मिलाइएको, कोभिड–१९ का कारण स्थानान्तरण भएका विद्यार्थीले स्थान्तरित भएकै विद्यालयबाट एसईईमा सम्मिलित हुन पाउने व्यवस्था गरिएको लगायतका कामको सूची सार्वजनिक गरिएको छ । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्