मुलुकको विकास साझा सङ्कल्प



काठमाडौं, जेठ १। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्ध सफलता हासिल गर्ने सङ्कल्पका साथ सरकार अगाडि बढेको बताएका छन् । ललितपुरको गोदावरीमा निर्माण भएको गोदावरी सम्मेलन केन्द्रको उद्घाटनगर्दै उनले सो कुरा बताएका हुन्। प्रधानमन्त्री ओलीले तीन हजार सिट क्षमताको सुविधा सम्पन्न मुलुककै सबभन्दा ठूलो सो सम्मेलन केन्द्रको प्रधानमन्त्री निवास बालुवाटारबाट शुक्रबार भर्चुअल उद्घाटन गरेका हुन् ।

कोरोनाका कारण मानिसहरूको ज्यान गइरहेकोमा चिन्ता र दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको अभियानमा सरिक हुन सबैसँग आग्रहसमेत गरे । कोभिडविरुद्धको नीति र सरकारको काम सही रहेको बताउँदै उनले मानिसको ज्यान बचाउने कुरालाई सबभन्दा महत्वको विषय बनाएर सरकार अगाडि बढिरहेको स्पष्ट पारे।

सम्मेलन केन्द्र उद्घाटनको पूर्वाधारबारे उनले भने, ‘‘हामीले फेरि एउटा नयाँ सफलता प्राप्त गरेका छौँ । हाम्रो उपलब्धिको थप एउटा नयाँ सिँढी थपेका छौँ । विकास र आधुनिकताको बाटोमा फेरि एक कदम अगाडि बढेका छौँ ।’’

मुलुकलाई विकासको गतिमा अगाडि बढाउने हाम्रो साझा सङ्कल्पका कारण विकासका कामहरू भइरहेको चर्चा गर्दै उनले कोभिड–१९ विरुद्धको हाम्रो लडाइँ सँगसँगै हाम्रा विकास निर्माणका साथै आर्थिक क्रियाकलाप र आपूर्ति व्यवस्थासहित सामाजिक जनजीवनलाई गतिशील राख्ने प्रयास अगाडि बढाइएको स्पष्ट पारे । मुलुककै सबभन्दा बढी क्षमता भएको यस सभाहलले मुलुकको आङ्कक्षालाई प्रतिविम्बित गरेको बताउँदै उनले जसरी उदाउँदो सूर्य उदाउँदै जान्छ त्यसरी नै हाम्रो अर्थतन्त्र र विकास उदाउँदै जाने जनाए।

‘‘अबको केही दिनभित्रमा नै लुम्बिनीमा निर्माणाधीन पाँच हजार क्षमताको सभाहल उद्घाटन हुने र यस वर्षको बुद्धजयन्ती सोही सभाहलमा हुने,’’ बताउँदै उनले धेरै जिल्लामा दुई हजार क्षमताका सभाहल निर्माण भएको जानकारी दिए  । ‘‘हामीले हाम्रो देश विकास गर्नुछ, तीव्र गतिमा गर्नुछ’’ भन्नुहुँदै विकासप्रति सकरात्मक भावनाले सहयोग गर्न र अगाडि बढ्न सबैसँग उनको आग्रह छ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्