आइसोलेसनमा बसेका पत्रकारलाई टेलिमेडिसिन सेवा निःशुल्क



विराटनगर,जेठ २ । कोरोना संक्रमण भएर आइसोलेसनमा बसेका मोरङका पत्रकारलाई  टेलिमेडिसिन सेवा निःशुल्क उपलब्ध हुने भएको छ । क्युरा हेल्थले विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य सम्बन्धी आवश्यक परामर्श (टेलिमेडिसिन सेवा) निःशुल्क उपलब्ध गराउने भएको हो ।

महामारीको समयमा अस्पताल वा क्लिनिक जाँदा सरुवा रोग कोभिड लगायत संक्रमणको सम्भावना भएकाले टेलिमेडिसिन सेवामार्फत सेवा लिन सकिने बताइएको छ । सामान्य लक्षण भएका संक्रमित पत्रकारलाई अस्पताल जानुपर्ने बाध्यात्मक अवस्था आइनपरोस् भनेर यस्तो सुविधा निःशुल्क दिन लागिएको क्यूरा हेल्थकी प्रबन्ध निर्देशक जयश्री जाजूले बताइन् । कोरोना संक्रमणपछि उत्पन्न हुन सक्ने डर, त्रास र संक्रमितको मनोअवस्थालाई दृष्टिगत गरी आवश्यक मनोसामाजिक परामर्श समेत उपलब्ध गराइने जानकारी उनले दिइन् ।  

टेलिमेडिसिन सेवा प्राप्त गर्न क्यूरा हेल्थको  मोबाइल एप्लिकेशन डाउनलोड गर्नुपर्ने जाजुले बताइन् । ‘एपमा देखाइए अनुसार कोभिड–१९ खण्डमा गई सूचीकृत भएका चिकित्सकसँग अपोइन्टमेन्ट लिनुपर्छ र चिकित्सबाट सेवा प्राप्त गर्न सकिनेछ,’ उनले भनिन् ।

यसैबीच, क्यूरा हेल्थसँगको सहकार्यमा नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) विराटनगर शाखा र पत्रकार महासंघ मोरङ शाखाले प्लाज्मा दान गर्न चाहने र प्लाज्मा आवश्यक भएका व्यक्तिलाई सम्पर्क गराउन छुट्टै वेब लिंक सञ्चालनमा ल्याएका छन् । एनवाईईएफ विराटनगरका अध्यक्ष युनेशराज श्रेष्ठले कोरोना महामारीका कारण अहिलेको अवस्थामा सबैजना त्रसित बनेको र प्लाज्मा दान गर्न चाहने व्यक्ति पनि अन्योलमा परिरहेको बताए । प्लाज्मा दान गर्न चाहने व्यक्तिले सो वेबसाइटमार्फत आफ्नो विवरण संलग्न गर्न सक्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

पत्रकार महासंघ मोरङका अध्यक्ष सञ्जीव खनालले यस्तो व्यवस्थाले विवरण उल्लेख गरेपछि प्लाज्मा आवश्यक पर्ने व्यक्तिले सम्पर्क गर्न सक्ने र संक्रमणको बेला प्लाज्मा दान गर्ने व्यक्तिको विवरण थाहा पाउन सहज हुने बताए । प्लाज्मा दिन इच्छुकहरूलाई आफ्नो विवरण उल्लेख गरिदिन पनि उनले आग्रह गरे ।आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्