प्यूठानमा आगलागीबाट १५ घरगोठ जलेर नष्ट्र, अनुमानित ६० लाखको क्षती



प्युठान,जेठ २ । जिल्लाको ऐरावती गाउँपालिका- १ बेलबोटमा आईतबार अपरान्ह आगलागी हुँदा १५ वटा घरगोठ जलेर नष्ट्र भएका छन्। आगलागीबाट ७ वटा घर र ८ वटा गोठ जलेर पूर्णरुपमा नष्ट भएको वडाअध्यक्ष दोर्णप्रसाद पाण्डेले जानकारी दिए ।

उनका अनुसार स्थानीय नुमबहादुर घर्ती, पदम बहादुर सारु,रामबहादुर घर्ती,मिलन घर्ती, बलबहादुर घर्ती र हिरा बहादुर सारुको घरगोठ जलेर नष्ट भएको हो ।स्थानीय श्याम बहादुर आलेको खरले छाएको गोठबाट आगो सल्किदा अन्य घर र गोठमा पूर्ण रुपमा क्षती भएको हो । आगोलागीबाट आलेको एउटा पाडो समेत जलेर मरेको छ।

आगलागीबाट करिब ६० लाख बराबरको क्षती भएको प्रारम्भिक अनुमान गरिएको स्थानीय वडा सद्स्य जीत बहादुर सारुले जानकारी दिए । ‘आगोले सबै जलेर खरानी भयो, उनले भने,’ शरिरमा एकसरो कपडा बाहेक पीडितको अरु केहि बचेन।’ आगोले आठ घर परिवारका ४० जना भन्दा बढी बिचल्लिमा परेको उहाको भनाई छ।गोठमा केटाकेटीले आगो बाल्दा आगलागी भएको हुनसक्ने स्थानीयको अनुमान छ ।

अहिले घटनास्थलमा पुगेर प्रहरीले क्षतीको बिबरण संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए । आगलागी पीडितहरुलाई जिल्ला बिपद व्यबस्थापन समितीबाट राहत बितरण गरिने प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए। स्थानियको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्