पोल्ट्री व्यवसायीले नेपालकै धूलो दूध किन्ने



काठमाडौं,जेठ ३ । पोल्ट्री व्यवसायीले नेपालकै दुग्ध व्यवसायीसँग धूलो दूध (एसएमपी) किन्ने भएका छन् । कोरोना महामारीका कारण दुग्ध व्यवसायीहरूसँग १ वर्षको अवधिमा करीब ३ अर्ब रुपैयाँ बराबरको धूलो दूध मौज्दात हुन पुगेपछि सरोकारवाला निकायहरूले पोल्ट्री व्यवसायीहरूलाई आफूसँग भएको धूलो दूध किनिदिन आग्रह गरेका छन् । हाल जारी निषेधाज्ञाका कारण करीब ६० प्रतिशतले दूधको खपत घटेको छ ।

शनिवार दुग्ध विकास बोर्डले पोल्ट्री व्यवसायमा आबद्ध उद्योगी, व्यवसायी तथा किसानहरूसँग मौज्दात रहेको धूलो दूध किनिदिन आग्रह गरेको हो । बोर्डले गरेको आग्रहमा पोल्ट्री व्यवसायीहरू पनि सकारात्मक भएको बोर्डका उपकार्यकारी निर्देशक बाबुकाजी पन्तले जानकारी दिए ।

उनका अनुसार यस विषयमा पुनः एकपटक सरोकारवाला निकायहरू सबै बसेर छलफल हुने र त्यसपश्चात् मात्र कहिलेदेखि किन्ने कसरी अघि बढ्ने भन्नेबारेमा टुंगो लाग्नेछ ।

पोल्ट्री व्यवसायीहरूले अहिलेसम्म कुखुराको दाना र भ्याक्सिन उत्पादन कार्यमा प्रयोग गर्न भारतबाट धूलो दूध किन्दै आएका थिए । उनीहरूले भारतबाट किनेर ल्याउने धूलो दूधभन्दा नेपाली धूलो दूध महँगो पर्न जाने बताइएको छ । व्यवसायीले भारतबाट किनेर ल्याउँदा प्रतिकिलो एसएमपीलाई ३ सय ५० रुपैयाँ पर्छ भने नेपालमा किन्दा ६ सय ५० रुपैयाँ पर्न जानेछ । यद्यपि भारतीय एसएमपीभन्दा नेपाली एसएमपीको गुणस्तर निकै राम्रो भएको बताइएको छ ।

यदि पोल्ट्री क्षेत्रले धूलो दूध किनेमा हाल मौज्दात ३ अर्ब रुपैयाँ बराबरको सबै दूध खपत हुने अनुमान गरिएको नेपाल डेरी एशोसिएशनका महासचिव प्रह्लाद दाहालले बताए । सामान्य अवस्थामा नेपालमा प्रतिहप्ता ४२ लाख कुखुराका चल्ला उत्पादन हुने गर्छ । तिनै चल्लामा मात्र धूलो दूध प्रयोग गर्न सकेमा डेरी क्षेत्रका लागि ठूलो राहत हुन सक्नेछ ।

अहिले कुखुराको दानाका लागि मात्रै दैनिक करीब ९ सय मेट्रिकटनसम्म एसएमपी प्रयोग हुने गरेको छ । कुखुराका लागि दैनिक ३ हजार मेट्रिकटन दाना उत्पादन हुन्छ जसमा प्रतिटन ३ किलो एसएमपी प्रयोग गर्नुपर्छ । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको तथ्यांकअनुसार कुखुरालाई दिइने भ्याक्सिन र अन्य औषधिका लागि दैनिक १८ सय टन एसएमपी खपत हुने गरेको छ ।

दुग्ध व्यवसायीले गरेको आग्रहमा आफूहरू सकारात्मक भएको र कोही पनि पोल्ट्री व्यवसायीहरूलाई अबदेखि भारतीय बजारबाट एसएमपी नकिन्ने र नेपाली एसएमपी नै किन्न आग्रह गरिसकिएको पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र विष्टले जानकारी दिए । भारतीय एसएमपीको कुनै गुणस्तर नभएकाले त्यसलाई नकिन्न समेत उनले सबै पोल्ट्री व्यवसायीलाई आग्रह गरेका छन् । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्