पर्वत अस्पतालमा स्वास्थ्य उपकरण थपिँदै



पर्वत,जेठ ३ । कोभिड–१९ को महामारी बढिरहेका बेला पर्वतमा लायन्स क्लब र कुश्मा नगरपालिकाको साझेदारीमा १ करोड ५५ लाख रुपैयाँ बराबरको अत्याधुनिक स्वास्थ्य सामग्री थपिने भएको छ । कोभिडका संक्रमित बिरामी बढ्दै गएको र आवश्यक स्वास्थ्य सामग्रीको अभाव भएकाले जिल्लामा स्वास्थ्य सामग्री ल्याउने कार्य अघि बढेको हो ।

अन्तरराष्ट्रिय लायन्स क्लबको १ करोड १७ लाख, जिल्लामा सक्रिय लायन्स क्लब अन्तर्गतका विभिन्न ८ क्लबबाट २३ लाख र कुश्मा नगरपालिकाको १५ लाख गरी १ करोड ५५ लाख रुपैयाँ लागत साझेदारीमा स्वास्थ्य सामग्री ल्याउने कार्य अन्तिम चरणमा पुगेको छ । लायन्स क्लब अफ पर्वतका पूर्वअध्यक्ष एवं अस्पताल सम्बद्ध उपकरण खरीद तथा व्यवस्थापन समितिका संयोजक वसन्त कर्माचार्यका अनुसार उक्त रकमबाट जर्मन प्रविधिमा आधारित अत्यावश्यक स्वास्थ्य सामग्री खरीद सम्झौता भइसकेको छ, जसमध्ये कोभिडका बिरामीलाई पनि सहज हुनेगरी अहिले अक्सिजन कम्प्रेसर मेशिनलाई पहिलो प्राथमिकता दिएर ल्याउने तयारी गरिएको कर्माचार्यले बताए ।

पर्वत जिल्ला अस्पतालमा अक्सिजन उत्पादन गर्ने प्लान्ट भए पनि सिलिण्डरमा भर्ने प्रविधि नभएकाले कम्प्रेसर मेशिन ल्याउने तयारी गरिएको उनको भनाइ छ । त्यस्तै भेण्टिलेटर, डायलासिस मेशिन, डिजिटल एक्सरे, कल्चरल चेकअप मेशिन लगायत सामग्री ल्याउन लागिएको छ । अस्पतालको भौतिक संरचना व्यवस्थित बन्दै गएपछि उपकरण पनि सोहीअनुसार व्यवस्थापन गरी सञ्चालनमा ल्याउने तयारी गरिएको अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले बताए ।  

कुश्मा नगरपालिकाले यसअघि ५ लाख रुपैयाँ प्रदान गरिसकेको र बाँकी १० लाख रुपैयाँ भुक्तानी दिन वैशाख ३० गतेको विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ । यससँगै कुश्मा नगरपालिकाले कोभिड १९ का बिरामीलाई अस्पतालसम्म ल्याउन सवारीसाधन भाडामा लिएर सञ्चालन गर्ने निर्णय समेत गरेको नगर प्रमुख रामचन्द्र जोशीले जानकारी दिए ।  

अस्पतालमा थप उपकरण व्यवस्थापनका लागि प्रतिनिधिसभा सदस्य पदम गिरीले समेत आफ्नो कोषबाट ३५ लाख रुपैयाँ विनियोजन गरेका छन् । उक्त रकमबाट अस्पताललाई आवश्यक सामग्री खरीद गर्ने तयारी भएको अध्यक्ष पहाडीले जानकारी दिए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्