अक्सिजन सिलिन्डर आदिको भन्सार जाँचपास सहज बनाउन निर्देशन



काठमाडौं,जेठ ४ । अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बद्ध स्वास्थ्य सामग्री, उपकरण र औषधिको भन्सार जाँचपासलाई सबैभन्दा प्राथमिकता दिएर छिटो र छरितो बनाउन निर्देशन दिएका छन् ।

अर्थमन्त्री पौडेलले भन्सार विभागका महानिर्देशक, उपमहानिर्देशक, विभिन्न भन्सार कार्यालयका प्रमुखहरूलाई नेपाल सरकार, प्रदेश, स्थानीय तह, गैरसकारी संस्था, निजीक्षेत्रले आयात गर्ने लिक्वीड अक्सिजन, अक्सिजन सिलिन्डर, अक्सिजन प्लान्ट र त्यसका पार्टपुर्जालगायत सामग्री विना झन्झट भन्सार जाँचपास गरी आपूर्तिलाई थप सहज बनाउन निर्देशन दिएका हुन् । सरोकारका निकायहरूसँग भएको भर्चुअल छलफलमा उनले यस्तो निर्देशन दिएका हुन् । उनले कोभिड–१९ बाट जोगिँदै प्रभावकारी रूपमा कार्य सम्पादन गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै स्वास्थ्य मापदण्ड पालना गरी काम गर्न कर्मचारीहरूलाई आग्रह गरे ।

अर्थमन्त्री पौडेलले कोभिड–१९ को उपचारका लागि आयात भएका वस्तुको परिमाण र मूल्यसहित दैनिक रूपमा जानकारी गराउन पनि निर्देशन दिए ।

अर्थसचिव शिशिरकुमार ढुुंगानाले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारसँग सम्बद्ध सामग्रीहरूको भन्सार जाँचपाससम्बन्धी संक्षिप्त कार्यविधि जारी गरी लागू गर्न निर्देशन दिए ।

राजस्व सचिव रामशरण पुडासैनीले छिटो जाँचपासका लागि छिमेकी मुलुकको भन्सार कार्यालयहरूसँग समन्वय गरी चौबीसै घण्टा प्रभावकारी रूपमा काम गर्न निर्देशन दिए ।

कार्यक्रममा भन्सार विभागका महानिर्देशक यमलाल भुसालले अत्यावश्यक वस्तुहरूको आपूर्तिलाई सहज बनाउन विभागले क्वीक रेस्पोन्स टीम बनाएर काम गरेको जानकारी दिए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्