भारतले यस वर्ष खोप नदिने



२१ लाखले दोस्रो मात्रा लगाउन बाँकी

काठमाडौं,जेठ ६ । भारतको सेरम इन्स्टिच्युट प्रालिले यस वर्ष खोप निर्यात गर्न नसकिने बताएको छ । मंगलवार कम्पनीका प्रमुख कार्यकारी अधिकृत आदर पुनावालाले विज्ञप्ति जारी गर्दै भारतमा कोरोना संक्रमण तीव्ररूपमा बढेकाले सन् २०२१ भित्र अन्य देशलाई खोप उपलब्ध गराउन नसकिने बताएका हुन् ।

‘यस वर्षको अन्त्यसम्ममा कोभ्याक्स लगायतको खोप निर्यात गर्न सकिने विश्वास छ,’ विज्ञप्तिमा भनिएको छ ।

सरकारले गतवर्ष माघ १४ गतेदेखि भारतले उपलब्ध गराएको १० लाख डोज खोपबाट खोप कार्यक्रम शुरू गरिएको थियो । पछि फागुन ९ नेपालले खरीद गरेको २० लाख डोजमध्ये १० लाख डोज भारतले पठाएकोमा बाँकी खोप भारतले हालसम्म पठाएको छैन । हालसम्म नेपालमा भारतले अनुदानमा दिएको १० लाख, खरीद गरेको १० लाख, भारतीय सेनाले सहयोगमार्फत उपलब्ध १ लाख, कोभ्याक्स सुविधाबाट प्राप्त ३ लाख ४८ हजारसहित २४ लाख ४८ हजार कोभिशिल्ड खोप आएकोमा २३ लाख ४८ हजारलाई लगाइएको छ, जसमध्ये ३ लाख ६९ हजार ४४९ लाई मात्र दोस्रो मात्राको खोप लगाइएको छ । २१ लाख १२ हजार १९ जनालाई दोस्रो मात्रा दिन बाँकी रहेको खोप महाशाखाका प्रमुख झलक शर्मा गौतमले जानकारी दिए ।

भारतले खोप नदिने भएपछि खोपको दोस्रो मात्रा लगाउन बाँकी २१ लाखले तत्काल खोप नपाउने देखिएको छ । यद्यपि, सरकारले भने खोप आयातका लागि कूटनीतिक पहल गरिरहेको बताएको छ । सरकारले चीन, रसिया र अमेरिकासँग खोप खरीदका लागि पहल गरिरहेको गौतमको भनाइ छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजक रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले खोप आयातका लागि भारतसँग कूटनीतिक पहल भइरहेको जानकारी दिए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्