घर दैलोमै नमुना सङ्कलन



काठमाडौ,जेठ ७ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले पीसीआर परीक्षणका लागि घरघरमा गई नमुना सङ्कलन गर्दा लाग्ने शुल्क निर्धारण गरेको छ ।
निजी क्षेत्रबाट सञ्चालित प्रयोगशालाले मनपरी शुल्क लिएको गुनासो बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई त्यससम्बन्धी मापदण्ड बनाउन निर्देशन दिएको थियो ।

राष्ट्रिय प्रयोगशालाका प्रवक्ता राजेशकुमार गुप्ताले अब निजी क्षेत्रका प्रयोगशालाले व्यक्तिको घरमा गई स्वाब सङ्कलन गर्दा लाग्ने दुई हजार रुपियाँमा थप पाँच सय रुपियाँ मात्र लिन पाउने निर्णय गरेको जानकारी दिनुभयो । त्यसबाहेक अन्य शुल्क लिएको अवस्थामा त्यस्ता प्रयोगशालालाई कारबाही हुने उहाँले जानकारी दिनुभयो ।

चौबीसै घण्टा पीसीआर परीक्षण
अब टेकुस्थित राष्ट्रिय प्रयोगशालाले चौबीसै घण्टा पीसीआर परीक्षण गर्ने भएको छ । स्थानीय तहले स्वाबको नमुना सङ्कलन गरेर पठाएपछि प्रयोगशाला चौबीसै घण्टा सञ्चालन हुने भएको हो । प्रयोगशालाका प्रवक्ता गुप्ताले दैनिक चारदेखि पाँच हजारसम्म नमुना स्थानीय तहबाट आउने गरेको जानकारी दिनुभयो । यसअघि बिहान, दिउँसो र बेलुकी तीन चरणमा मात्र पीसीआर परीक्षण हुने गर्दथ्यो । प्रयोगशालामा आउने व्यक्ति दैनिक दुईदेखि तीन सय हुने गरेको उहाँले बताउनुभयो । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्