नुवाकोट शिवपुरीमा समुदाय स्तरमै फैलियो कोरोना संक्रमण



नुवाकोट,जेठ ७ । जिल्लास्थित शिवपुरी गाउँपालिकामा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको पुष्टि भएको छ। गाउँपालिकाले सेवा क्षेत्रका सबै वडामा एक साता अघि गरेको कोरोना परिक्षणको नतिजा सार्वजनिक गरेसंगै संक्रमण समुदायस्तरमै फैलिएको पुष्टि भएको हो।

गाउँपालिकाले गत वैशाख २६,२७ र २८ गते तीन दिन सबै वडा क्षेत्रमा कोरोनाका लक्षण तथा आशंका गरिएकाहरुको स्वाब संकलन अभियान नै संचालन गरेको थियो। स्वाब रिपोर्टमा सबै वडा क्षेत्रमा संक्रमणदर समानान्तर गतिमा फैलिएको शिवपुरी गाउँपालिकाका स्वास्थ्य प्रमुख उद्धब कार्कीले बताए ।

गाउँपालिकाको वडा क्षेत्रमा गरिएको परिक्षण अन्तर्गत पिसिआरबाट ६९ जना र एन्टिजेन्ट परिक्षणबाट २३ जनामा कोरोना पोजिटिभ पाइएको छ । सेवा क्षेत्रमा कुल २२२ जनामा गरिएको परिक्षणमा वडा नम्बर १ र २ मा ४ जना, वडा नम्बर ३ मा २१ जना,वडा नम्बर ४ मा १३ जनामा कोरोना पोजिटिभ देखिएको हो। त्यस्तै वडा नम्बर ५ मा ११ जना, वडा नम्बर ६ मा १५ जना,वडा नम्बर ७ मा ४ जना र वडा नम्बर ८ मा २० जनामा कोरोना पोजिटिभ पुष्टि भएको हो।

परिक्षण दायरालाई फराकिलो बनाउदै गाउँपालिकाले पछिल्लो दिन यता सम्भावित संक्रमित भएका क्षेत्रमा परिक्षण टोलि समेत खटाएको छ। बिहीबार वडा नम्बर ६ को लामा गाउँमा सम्भावित बिरामीका आफन्तहरुको परिक्षण सम्पन्न गरेको छ।

थोरै जनशक्तिको बाबजुद धेरै उपलब्धि: स्वास्थ्य प्रमुख कार्की

गाउँपालिकामा समुदायस्तरमै संक्रमणदर भेटिएपनि उच्च स्वास्थ्य सतर्कताका कार्यक्रम भैरहेको गाउँपालिकाका स्वास्थ्य प्रमुख उद्दब कार्कीले बताए ।कोरोना महामारीका समयमा न्यून स्वास्थ्य जनशक्तिका बाबजुद सेवा क्षेत्रमा धेरै उपलब्धि हासिल गरेको स्वास्थ्य प्रमुख कार्कीको दावी छ। उनका अनुसार हाल संक्रमितलाई नियमित अनुगमन गर्न प्रत्येक दिन संक्रमितसंग टेलिफोन बाट स्वास्थ्य अवस्थाको जानकारी तथा परामर्श गर्ने गरिएको छ भने आवश्यक लगत संकलनका लागि प्रत्येक वडामा फोकल पर्सन स्वास्थ्यकर्मी घटाइएको उनले बताए । वडा अध्यक्षको निगरानीमा संक्रमितको रिपोर्टिङ फोकल पर्सनले गाउँपालिकालाई बुझाउने गरेको छ।

गाउँपालिकामा आवश्यक स्वास्थ्यकर्मीको अभाव रहेकाले हाल विद्यालय नर्सलाई समेत गाउँपालिकाको कोभिड अस्पतालमा खटाइएको छ। हाल गाउँपालिकामा एकजना एमबीबीएस डाक्टरसहित ५ जना स्टाफ नर्स१ जना हेल्थ असिस्टेन्ट र १ जना ल्याब असिस्टेन्ट सेवारत रहेको गाउँपालिकाले जनाएको छ।

सिमामा खुल्ला नाका भएकाले जोखिम उस्तै

शिवपुरी गाउँपालिका काठमाडौसंग जोडिएको क्षेत्र र नुवाकोट प्रवेशको छोटो दुरीकोमार्ग भएकाले कोरोना संक्रमण केसमा थप जोखिम ब्यहोर्नु परेको सरोकारवालाहरुले बताउदै आएका छन्। सिमामा काठमाडौसंगको नाका र स्थानीयमा आवतजावत समेत बढ्ने भएकाले हामी स्वयं सुसूचित हुनुपर्ने गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले बताए। प्रहरी तथा सेनालाई प्रवेश मार्गमा कडाई गर्न यस अघि नै निर्देशन दिइसकेको बताउदै अध्यक्ष थापाले महामारीमा सबै जुटेर यस्लाई परास्त गर्नुपर्ने बताए। गाउँपालिकाले पालिकाको स्वास्थ्य शाखा २४ सै घण्टा खुल्ला राखी सेवा दिइरहेकाले जोकोहीलाई कोरोना सम्बन्धि सामान्य लक्षण देखिएको खण्डमा स्वास्थ्य शाखामा समन्वय गरिदिन समेत अध्यक्ष थापाले अनुरोध गरे।

प्रतिक्रिया दिनुहोस्