रुपन्देहीको देवदहमा नि:शुल्क एम्बुलेन्स र शववाहन सेवा सुरु



रुपन्देही,जेठ ७ । जिल्लाको देवदहमा शुक्रबारदेखि निशुल्क एम्बुलेन्स र शव वाहन सेवा सुरु गरिएको छ।
नेकपा एमालेको शुभेच्छुक संगठ्न अखिल नेपाल राष्ट्रीय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) देवदह नगर कमिटीले शव वाहान र बिरामी बोक्ने सवारी सञ्चालनमा ल्याएको हो ।

संक्रमण बढ्दै गएको अहिलेको जटिल अवस्थालाई ख्याल गर्दै सर्वसाधारण बिरामीले एम्बुलेन्स नपाएर छट्पटाउनु पर्ने अवस्थाबाट बिरामीलाई सहज गर्न निशुल्क एम्बुलेन्स र शव वाहन सेवा सुरु गरिएको नगर कमिटीका अध्यक्ष सुरज भट्टराईले जानकारी दिए। ‘विरामी बोक्न र शव व्यवस्थापनमा समस्या भएकाले सवारी संञ्चालनमा ल्याएका हौँ।’ उनले भने।

देवदहमा आज आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठले एम्बुलेन्स र शववाहन सेवाको उद्घाटन गर्नु भयो । सो अबसरमा बोल्दै मन्त्री श्रेष्ठले प्रदेश सरकार अक्सिजनको व्यवस्थापनमा जुटेको बताउनु भयो ।लुम्बिनी प्रदेश भित्रका जिल्लाहरुमा सञ्चालित जिल्ला अस्पताल र कोभिड अस्पतालहरुलाई बजेट व्यवस्थापन गरीएको उल्लेख गर्दै उहाँले उक्त रकमको सही ब्यवस्थापनको खाँचो रहेको बताउनु भयो । उहाँले स्थानिय तहसंग मिलेर संकटको सामना गर्न सबै राजनीतिक दल र संघ संस्थाहरुलाई आग्रह समेत गर्नु भयो । शव वाहान र बिरामी बोक्ने सवारी देवदह कोरोना अस्थाई अस्पताल शित्तलनगरमा राखिएको छ ।

कार्यक्रममा प्रदेश सभा सदस्य डा. कृष्ण न्यौपाने, देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ, देवदह मेडिकल कलेजका अस्पताल निर्देशक डा. बिक्रम ज्ञवाली, मन्त्री श्रेष्ठका स्वकीय सचिव माधव सापकोटा लगायत युवा विद्यार्थीहरू सहभागी थिए। कार्यक्रमको सञ्चालन कृष्ण पौडेलले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्