पञ्चकन्या गाउँपालिकाद्वारा भेलाजन्य गतिविधि नगर्न आग्रह



नुवाकोट, जेठ ७ । कोरोना भाइरसको दोस्रो लहर बढ्दै गएकाले जिल्लाको पञ्‍चकन्या गाउँपालिकाले सामाजिक कार्यहरु र धार्मिक तथा सांस्कृतिक रुपमा हुने कुनै पनि भेलाजन्य गतिविधि नगर्न आग्रह गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनीले शुक्रबार सूचना प्रकाशित गर्दै गाउँपालिकाभित्र नागरिकहरु जमघट हुने कुनै किसिमका सामाजिक कार्यहरु (विवाह, ब्रतबन्ध, सेवा सञ्‍चालन, कार्यक्रम सञ्‍चालन समारोह, पर्व जात्रा) लगाय धार्मिक तथा सांस्कृतिक गतिविधिहरु नगर्न अनुरोध गरेका हुन् ।

त्यस्तै सार्वजनिक स्थल, पार्टीपौवा, चौताराहरुमा अनावश्यक रुपमा जमघट तथा भेला हुने कार्य पूर्णरुपमा बन्द गर्न पनि पालिकाले अनुरोध गरेको छ ।

विशेषगरी नजिकिँदै गरेको बुद्ध जयन्तीको दिन सांकेतिक रुपमा १/२ जना मात्र उपस्थित भई आफ्नो कूल पूजा गर्न पनि प्रमुख प्रशासकीय अधिकृत पुडासैनीले सूचनामार्फत आग्रह गरेका छन् ।

गाउँपालिकाद्वारा जारी सूचना

प्रतिक्रिया दिनुहोस्