प्रधानमन्त्रीका लागि ओली र देउवाको दावी, राष्ट्रपति परामर्शमा



काठमाडौं,जेठ ७। नयाँ सरकार गठनका लागि सत्ता पक्ष र प्रतिपक्ष दुबैको दाबी राष्ट्रपति कार्यालयमा दर्ता भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गठनका लागि दिएको समय ५ बजे सकिनु अघि दुबै पक्षको सरकार गठनका लागि दाबी परेको हो । १४९ सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री दावी गरिएको पत्र लिएर पुगेका विपक्षी गठबन्धनका नेताहरुलाई राष्ट्रपति भण्डारीले कानूनी पक्षबारे परामर्श गरेर मात्र प्रधानमन्त्री नियुक्तिबारे निर्णय लिने बताएका छन् ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओली पनि बहुमत दावी गर्न आएको भन्दै आफूले कानुन परामर्श गरेर मात्र प्रधानमन्त्री नियुक्तबारे निर्णय लिने बताएका हुन । हामीले हस्ताक्षरसहितको दावी प्रस्तुत गर्‍यौं । उनले धेरै बोलेनन् । म कानुन पनि हेर्छु, प्रधानमन्त्री (केपी शर्मा ओली) पनि दाबी गर्न आएका छ्न श्रेष्ठले भने ।

विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको बाबुराम–उपेन्द्र पक्ष र नेकपा एमालेको माधव नेपाल पक्षसहित गरी १४९ जना सांसदसहितको हस्ताक्षर बुझाएका छन् । यस्तै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले पनि १५३ जना सांसदको हस्ताक्षर बुझाएका छन् । दुवै पक्षले बहुमत दाबी गरेपछि राष्ट्रपति कार्यालयले कानुनि परार्म पछि मात्र निर्णय गर्ने भएको छ । तर एमालेका केही सांसद र जसपाका केही सांसदले आफ्नो हस्ताक्षर दुरुपयोग भएको बताइसकेका छन् । दुवै पक्षले सांसदको हस्ताक्षर दुरुपयोग गरेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्