दैनिक ध्यानले स्वास्थ्यलाई फाइदै फाइदा



काठमाडौं, जेठ ८ । तपाईंहरू ध्यान गर्नुहुन्छरु गर्नु हुन्छ भने कसरी? सबैजसोको एउटै भनाइ हुन्छ, पलेँटी कसेर आँखा बन्द गरेर । तर हिँडेर पनि ध्यान गर्न मिल्छ भनेर कमैलाई थाहा होला । यसरी गरिने ध्यानलाई चक्रमण ध्यान भनिन्छ । पलेँटी कसेर ध्यान गर्न नसक्नेहरूलाई हिँडेरै गरिने चक्रमण ध्यान उपयोगी हुने योग गुरुहरूको भनाइ छ ।

आजभन्दा २५ सय वर्षअघि नै गौतम बुद्धले सुरु गरेको यो ध्यान विधिबारे रजनीश ओशोले आफ्नो पुस्तक ‘गहरे पानी पैठ’मा चर्चा गरेका छन् । पहिले बौद्ध भिक्षु वा आनीले मात्रै गर्ने यो ध्यान अचेल गैर बौद्धधर्मावलम्बीहरूले पनि गर्न थालेका छन् ।

चापागाउँस्थित योग केन्द्रका गुरु सागरमान श्रेष्ठका अनुसार यो चक्रमण ध्यान अहिले धेरैले गर्ने गरेको जानकारी दिए। योग गर्ने समयमा धेरैलाई पलेँटी कसेर गर्न गाह्रो हुन्छ तर ध्यानपूर्वक हिँडेर गरिने चक्रमण ध्यान त्यस्तो व्यक्तिलाई उपयोगी हुने उनको भनाइ छ ।

गौतम बुद्धले ‘धर्मचक्र प्रवर्तन सूत्र देशना’मा यसको विधि बताएपछि उनका अनुयायीले यो विधि पछ्याउन थालेको श्रेष्ठले बताए। उनका अनुसार चक्रमण ध्यान गोलो गरेर हिँडेर वा सीधा हिँडेर दुवै तरिकाबाट गर्न सकिन्छ । “यो ध्यान गर्दा आफ्नो ध्यान खुट्टामा केन्द्रित गर्नुपर्छ, मेरुदण्ड र टाउको सीधा राख्नुपर्छ, तलमाथि नभई आफूभन्दा चार फिट अगाडि हेर्नुपर्छ, पेटमा वा पछाडि देब्रे हत्केलामाथि दाहिने हत्केला राखेर विस्तारै हिँड्नुपर्छ,” गुरु श्रेष्ठले भने ।

उनले यो ध्यान गरेपछि स्मरणशक्ति बढ्नुका साथै शारीरिक रूपमा फाइदा गर्ने भएकाले मानिस यसतर्फ आकर्षित भएको जानकारी दिए। जसरी जीवन स्वस्थ राख्न स्वच्छ पानी, हावाको आवश्यकता पर्छ त्यसरी नै मनलाई स्वच्छ राख्न ध्यानको आवश्यकता पर्ने गुरु श्रेष्ठको अनुभव छ । उनले भने, “दिनमा एक घण्टा ध्यान गरौँ, सकिँदैन भने बिहान बेलुका १५ मिनेट भए पनि गर्नुपर्छ । यसले मनका साथै शरीरलाई पनि फाइदा गर्छ । ”

योग गुरुआमा बिना आचार्यले चक्रमण ध्यान आफूले पनि सिकाएको जानकारी दिँदै यसमा तीन तरिकाबाट हिँड्न सकिने बताए । उनका अनुसार पहिलो तरिकामा विस्तारै एकपछि अर्को गर्दै गोडा अगाडि बढाउने, दोस्रोमा एक पटकमा एउटा खुट्टा मात्रै सक्रिय हुन्छ ।

जस्तै एउटा खुट्टा उचालेर अगाडि बढुन्जेल अर्को खुट्टा स्थिर राखिन्छ । तेस्रो विधिमा भने खुट्टा उचाल्दा, खुट्टा अगाडि सर्दा र खुट्टा भुइँमा छोएको गरी तीन अवस्थामा होस पुर्याउनुपर्छ । सुरुमा यो ध्यान गर्दा खुट्टा झम्झमाउने, निदाउने, दुख्ने हुन्छ । तर त्यो सहेर ध्यान गर्नुपर्ने हुन्छ ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्