देश–विदेशबाट जुट्दै स्वास्थ्य सामग्री



काठमाडौं, जेठ ८ । कोरोना संक्रमितको उपचारका लागि अमेरिका र स्विट्जरल्यान्डले नेपाललाई सहयोगस्वरुप उपलब्ध गराएका विभिन्न स्वास्थ्य सामग्री शनिबार काठमाडौं आइपुग्ने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्विट्जरल्यान्ड सरकारले उपलब्ध गराएका स्वास्थ्य सामग्री शनिबार बिहान नौ बजे र अमेरिकाले उपलब्ध गराएका सामग्री दिउँसो एक बजे विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थल आइपुग्ने छन्। स्वास्थ्य सामग्री लिएर उतैका विमान आउने छन्।

स्विट्जरल्यान्डले भेन्टिलेटर, कन्सनटेटर, अक्सिजन सिलिण्डर सहयोगस्वरुप उपलब्ध गराउने भनेकोछ। अमेरिकाले दिने स्वास्थ्य सामग्रीको भने विवरण प्राप्त नभएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए। मन्त्रालयका अनुसार शनिबार नै चीनबाट अक्सिजन सिलिण्डरलगायतका स्वास्थ्य सामग्री आइपुग्नेछन्।

यसैबीच स्पेन सरकारले सहयोगस्वरुप उपलब्ध गराएका अक्सिजन कन्सनटेटर, मोनिटर, भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाइएको छ।यसैगरी शुक्रबार नै वल्र्ड भिजन इन्टरनेसनलले १२ सय १२ वटा पल्स अक्सिमिटर, पिपिई १२ सय १५ थान, २० थान अक्सिजन कन्सनटेटर, १ हजार १२ वटा थर्ममिटर, १४ सय वटा अक्सिजन सिलिण्डर र २५ वटा बेड मन्त्रालयलाई हस्तान्तरण गरेको छ। गैरआवसीय नेपाली संघले पनि अक्सिजन सिलिण्डरमा प्रयोग हुने रेगुलेटर ५ सय ६० थान उपलब्ध गराएको छ।

यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्