एमाले टकरावले संकट



काठमाडौ,जेठ ८ । नेकपा एमालेमा देखिएको विवाद सरकार बन्ने र भत्कने खेलको कारण बनेको छ। एमालेमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहमा देखिएको टकरावले सरकारको स्थिरतामा समस्या आएको हो। एमालेभित्रकै विवादका कारण पुर्नस्थापित प्रतिनिधिसभाले समेत राम्रोसँग काम गर्न नसकेपछि यो संस्थासहित ओली नेतृत्वको सरकार पनि धरापमा परेको छ।

एमालेमा विवाद समाधानका लागि कार्यदल गठन भए पनि त्यसले राम्रोसँग काम सुरु नगर्दै थप विवाद खडा हुन थाल्यो। कार्यदलको शुक्रबारको बैठकमा समेत सरकार गठनलाई लिएर सबालजबाफ भएको एक सदस्यले बताए। बैठकमा पार्टीका २६ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेको विषयमा छलफल भएको थियो। दुवै पक्षबीच हस्ताक्षर ‘दुरुपयोग’ का विषयमा सवाल जवाफ बैठकमा सहभागी सदस्यले भने।

वरिष्ठ नेता नेपाल निकट सांसदले देउवाका पक्षमा हस्ताक्षर गरेपछि पार्टी फुटको तहमा पुगेको तर्क प्रधानमन्त्री ओली निकट नेताले सुनाएपछि त्यही विषयमा बैठक केन्द्रित हुन पुग्यो। बैठकमा पार्टी एकता जोगाउने विषयमा छलफल भएको सदस्यहरूले बताए पनि कार्यदलको औचित्य नै सकिएजसरी कुराकानी भएको स्रोतको दाबी छ।

‘राष्ट्रिय परिस्थितिबारे सौहाद्र्रपूर्ण छलफल भयो, सबैले आआफ्ना दृष्टिकोण राख्नुभयो। छलफलमा पार्टी एकता जोगाउनुपर्छ भन्नेमा सबैबीच सहमति भएको छ। अर्को बैठक दुवै पक्षको सहमतिमा एकदुई दिनमा राख्नेगरी उठेका छौं,’ कार्यदलका सदस्य रघु पन्तले भने।

बैठकमा भीम रावलले संसद् विघटन रोक्न देउवाका पक्षमा हस्ताक्षर गरेको जवाफ दिएका थिए। ओली समूहका नेताहरूले भने देउवाको पक्षका गरिएको हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए। कार्यदलका सदस्य प्रदीप ज्ञवालीले देउवाको पक्षमा हस्ताक्षर गर्नु गम्भीर भएको बताएका थिए।

कार्यदलको बैठक सकिएपछि नेपालनिकटका सांसदमध्ये जयकुमार राईले आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्दै राष्ट्रपतिलाई पत्राचार गरेका थिए। त्यस्तै योगेश भट्टराईले पनि देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा हस्ताक्षर नगरेको बताएका छन्। अहिले पनि आफ्नो ध्यान पार्टी एकतामै रहेकाले देउवालाई प्रधानमन्त्री बनाउने गरी हस्ताक्षर नगरेको उनले बताएका छन्।

‘मेरो राजनीतिक जीवनकै सबैभन्दा कठिन दिन आज। नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ ,सही गरें कि गलत गरें, इतिहासको कठोर मूल्यांकनमा खडा छु’, नेता भट्टराईले भने। सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट, नारायण खतिवडा, गणेश पहाडी, दीपकप्रकाश भट्ट र पवित्रा निरौला खरेलले पनि हस्ताक्षर दुरुपयोग भएको आरोप लगाएको बताइएको छ। तर उनीहरूले अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएका छैनन्।

नेपाल पक्षधर नेताहरूले भने कसैको पनि हस्ताक्षर दुरुपयोग नभएको बताएका छन्। नेपाल पक्षका सांसद संसद्को लेखा समितिको हलमा जम्मा भएर हस्ताक्षर गरेका थिए। सांसद विरोध खतिवडाका अनुसार योगेश भट्टराईबाहेक सबै सांसदको हस्ताक्षर भएको थियो। उनका अनुसार सबैले लेखा समितिको हलमा जम्मा भएर हस्ताक्षर गरी माधव नेपाललाई पूर्ण समर्थन दिएर पठाएका थिए। नेपालले पनि सोहीअनुरुप देउवालाई प्रधानमन्त्री बनाउन आफ्ना सांसदको हस्ताक्षर दिएका थिए।

यो समाचार टपेन्द्र कार्कीले नागरिक दैनिकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्