नुवाकोटमा स्थानीय निकायको आइसोलेशनभन्दा अस्पतालतर्फ बिरामीको आकर्षण



• शक्तिमाया तामाङ

नुवाकोट,जेठ ८ । कोरोना भाइरसका संक्रमित बढ्न थालेसंगै नुवाकोट जिल्लाका सबै स्थानीय तहले आइसोलेशन केन्द्र सञ्चालन गरेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ।

जिल्लाको १२ वटा स्थानीय तहले १७ स्थानमा अक्सिजन सहितको २ सय ७५ शय्या आइसोलेशन तयारी अवस्थामा राखेको स्वास्थ्य कार्यालयका सूचना अधिकृत उत्तमराज खनालले जानकारी दिए।

तर स्थानीय तहले आइसोलेशन केन्द्र सञ्चालन गरेता पनि कोरोनाभाइरस सङ्क्रमित बिरामीहरू त्रिशुली अस्पतालमा आकर्षित हुँदा पालिकाले तयार गरेका आइसोलेशन केन्द्रका कैयौँ शय्या खाली रहेका छन्।

स्थानीय तहले सञ्चालन गरेको आइसोलेशन केन्द्रमा चिकित्सक सहितको सुविधा भए पनि अस्पतालमा थप सुरक्षा हुने विश्वासमा सङ्क्रमितहरू त्रिशुली अस्पताल नै जाने गरेको स्थानीय निकायका जनप्रतिनिधिले बताए।

त्रिशुली अस्पतालमा रसुवा र धादिङबाट पनि सङ्क्रमितहरू आएकाले पछिल्ला केही दिन यता बिरामीको चाप बढेकाले अस्पतालमा रहेको सीमित जनशक्तिलाई समस्या भएको स्वास्थ्यकर्मीले बताएका छन्।

वाग्मती प्रदेश मातहतमा रहेको त्रिशुली अस्पताल ५० शय्याको छ।

बिरामीको चाप बढेपछि ३० शय्या थप गरेर ८० शय्याको सेवा दिन थालिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिए।

उनले भने, “अस्पतालमा शय्या थप गरेर सेवा दिँदै आए पनि जनशक्तिको अभाव दैनिक बढ्दै छ भौतिक व्यवस्थापन गरेता पनि जनशक्तिको व्यवस्थापन हुन नसक्दा समस्या जटिल बन्दै गएको छ। आफूहरूले सकेको दिनरात खटिरहेका छौँ यही अवस्थाले बिरामी सङ्ख्या बढिरह्यो भने जनशक्तिले धान्नै सक्दैन।”

अस्पतालले नियमित श्रोत र जनशक्तिमार्फत हाल कोभिड वार्ड चलाइरहेको डा. पाण्डेले बताए।

अस्पतालमा अहिले ६५ जना कोरोनाभाइरस सङ्क्रमित रहेकोमा गम्भीर अवस्थाका छ जनाको सघन उपचार कक्ष (आईसीयू) र चार भेन्टिलेटर राखिएको छ भने आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने बिरामी धेरै भएकाले व्यवस्थापनमा समस्या भएको डा दीपेन्द्र पाण्डेले जानकारी दिए।

कतिपय सङ्क्रमितहरू भने घरमा नै होम आइसोलेशनमा घरेलु उपाय अपनाएर बस्दै आएका छन्।

किस्पाङ गाउँपालिकाकी माया तामाङ घरकै होम आइसोलेशनमा बस्दै आएकी छन्।

उनी भन्छिन्, “सुरुमा एकदमै ज्यान दुख्ने र ज्वरो आएको भए पनि अहिले स्वास्थ्यमा धेरै सुधार भइसकेको छ। हरेक दिन स्वास्थ्यकर्मीको सम्पर्कमा रहँदै निमित्त घरेलु जडिबुटी सेवन गर्दै छु।”

सङ्क्रमणको लक्षण देखिएका तथा सङ्क्रमितहरूलाई स्थानीय निकायले तयार गरिएको आइसोलेशनमा राख्न सकेमा त्रिशुली अस्पतालमा भएको बिरामीको चाप घटाउन सकिने तथा गम्भीर अवस्थाका बिरामीलाई आवश्यक सेवा प्रदान गर्न सहज हुने कतिपयको धारणा छ। बिबिसी न्युजबाट

प्रतिक्रिया दिनुहोस्