एयरलाइन्समा नेपालकै दुग्ध उत्पादन प्रयोग गराउन निर्देशन



काठमाडौं,जेठ ९ । एयरलाइन्समा नेपालमै उत्पादित दुग्ध पदार्थ प्रयोग गराउन कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले निर्देशन दिएकी छिन् । शनिवार राष्ट्रिय दुग्ध संस्थानको बैठकलाई सम्बोधन गर्दै मन्त्री अर्यालले एयरलाइन्सहरूमा नेपालमै उत्पादित बटर, दही, चीज, छुर्पी लगायत दुग्ध पदार्थ प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएकी हुन् ।

कार्यक्रममा मन्त्री अर्यालले आफूले नेपाल वायुसेवा निगमसँग छलफल गर्दा बटर, दही लगायत दुग्ध पदार्थ बाह्य मुलुकबाट आयात गर्दा ठूलो रकम विदेशिने गरेको जानकारी पाएको भन्दै स्वदेशकै उत्पादन प्रवद्र्धनका लागि उक्त व्यवस्था मिलाउन संस्थानका अध्यक्ष बाबुराम पाण्डेलाई निर्देशन दिएकी हुन् । ‘नेपाल वायुसेवा निगमको प्रमुखसँग छलफल गर्दा बटर, दही लगायत वस्तु बाह्य मुलुकबाट ल्याउँदा ठूलो रकम बाहिर गएको पाइयो,’ उनले भनिन्, ‘यसलाई रोक्न मुलुकमै उत्पादित दुग्ध पदार्थको प्रयोगमा जोड दिनुपर्नेछ ।’ एयरलाइन्सलाई दुग्ध पदार्थको विक्री वितरणको तयारी एक हप्ताभित्र गर्न संस्थानललाई उनले निर्देशन दिइन् ।

खासगरी घीउ, नौनी, चीज लगायत उत्पादनको बजारीकरण गर्नुपर्ने भन्दै मन्त्री अर्यालले निर्यात प्रवद्र्धन गर्ने खालका सैद्धान्तिक नीतिगत व्यवस्था गर्नुपर्ने भए त्यसका लागि मन्त्रालय तयार भएको उद्घोष गरिन् । दुग्ध किसानको बक्यौता चुक्ताका लागि हालसम्म मौज्दात रहेको सामग्री सरकारले खरीद गर्ने विषय उठेकाले त्यसको सहजकरण गर्न मन्त्रालय लागिपरेको उनको भनाइ छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्